Logo

आजबाट आयल निगम ऋण मुक्त, पहिलो प्राथमिकता डिपोको क्षमता विस्तार

आजबाट आयल निगम ऋण मुक्त, पहिलो प्राथमिकता डिपोको क्षमता विस्तार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगम आजबाट ऋण मुक्त भएको छ । निगम १३ वर्षपछि ऋण मुक्त भएको हो । निगमले केही समयअघि मात्र सरकारको ढुकुटीमा पैसा जम्मा गरिसकेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘निगमले आजै मात्र सरकारलाई ८० करोड रुपैयाँ ऋण र ६१ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ,’ उनले भने, ‘योसँगै निगम अव ऋण मुक्त भएको छ ।’

निगम ३ वर्षअघिसम्म ३६ अर्ब रुपैयाँ ऋणमा रहेकोमा आजबाट मुक्त भएको हो । निगमले ३ वर्ष यता सरकारको १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ अर्ब ९३ करोड रुपैयाँ, कर्मचारी सञ्चयकोषको १० अर्ब ८५ करोड रुपैयाँ र वाणिज्य बैंकहरुको २ अर्ब ७४ करोड रुपैयाँ ऋण चुक्ता गरेको हो । यसैगरी इण्डियन आयल कर्पोरेशनको ९ अर्ब रुपैयाँ बक्यौता समेत चुक्ता गरेको छ ।

घिमिरेका अनुसार निगम ऋण मुक्त भएसँगै अव क्षमता विस्तारमा लाग्ने भएको छ । केही समय अघि देखिएको इन्धन समस्या आगामी दिनमा नओस भन्ने उद्देश्य अनुरुप नयाँ डिपो स्थापना तथा हाल भइरहेका डिपोको क्षमता विस्तार गर्न लागेको हो ।

जस अनुसार निगमले भद्रपुरमा हवाइ इन्धनको नयाँ डिपो स्थापना गर्ने भएको छ भने नयाँ स्थानमा डिपो स्थापनाको लागि समेत अध्ययन भइरहेको छ । यसैगरी, आगामी आर्थिक वर्षमा भैरहवा र विराटनगरको इन्धन भण्डारण क्षमता विस्तार गरिने छ भने सिनामंगलको हवाइ इन्धन भण्डारण डिपोको समेत क्षमता विस्तार गरिने घिमिरेले जानकारी दिए ।

साथै निगमले थानकोटको डिपोको क्षमता विस्तारको लागि समेत विश्वव्यापी बोलपत्र आब्हान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL