Logo

चरम आर्थिक मन्दीतर्फ मुलुक : चाडबाड नजिकिदा पनि छैन बजारमा उत्साह, एलसी खोल्ने व्यवसायी पाउनै मुस्किल

चरम आर्थिक मन्दीतर्फ मुलुक : चाडबाड नजिकिदा पनि छैन बजारमा उत्साह, एलसी खोल्ने व्यवसायी पाउनै मुस्किल



काठमाडौं । देश आर्थिक मन्दीको चरम अवस्थाबाट गुर्जिरहेको छ भन्ने उदाहरण बैंकले गर्ने कर्जा लगानी तथा निक्षेप संकलनको तथ्यांकले देखाएको छ । आर्थिक मन्दीको कारण चाडपर्व नजिकिदा पनि व्यवसायीहरुले आयात गर्ने बस्तूको प्रतितपत्र (एलसी) खोल्न सकेका छैनन् भने व्यवसायीले नयाँ बस्तु बजारमा ल्याउन नसक्दा बजारमा चाडपर्वको उत्हासा पनि अन्य वर्षमा भन्दा कम देखिएको छ ।

अन्य आर्थिक वर्षमा व्यवसायीले चाडपर्वको लागि दुई–तीन महिना अगाडिबाट नै सामान आयात गर्न एलसी खोल्ने र सामान आयात गर्ने गर्दथ्ये । तर, यस वर्ष व्यवसायीले चाडपर्वलाई लक्षित गरेर कुनै पनि बस्तु आयात गर्नको लागि एलसी खोल्न तयार नएको सम्बन्धित क्षेत्रका व्यक्तिहरु बताउँछन । अन्य वर्षमा चाडपर्व नजिकिएसँगै बैंकबाट आयातको लागि ठूलो रकम बाहिरिने गरेको थियो । तर, यस आर्थिक वर्षमा भने बैंकहरुको कर्जा लगानीमा पनि गिरावट आएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार डेढ महिनामा १ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । बैंकिङ क्षेत्रबाट ८५ अर्बको हाराहारीमा स्थानिय सञ्चित कोषको पैसा बाहिरिहेको छ । यसैगरी बैंकको निक्षेप केहिमात्रमा सरकारले आन्तरिक ऋणको लागि उठाएको छ । साउन १ गतेसम्म ५७ खर्ब ४३ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीमा भदौ १५ गतेसम्म आउँदा ५६ खर्ब २५ खर्ब रुपैयाँमा झरेको छ ।यता डेढ महिनाको अवधिमा बैंकिङ प्रणालीबाट ६ अर्ब रुपैयाँको हाराहारीमा कर्जा लगानी भएको छ । गत साउन महिनामा ४८ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा भदौ १५ गतेसम्म आउँला ४८ खर्ब ८० अर्ब रुपैयाँमात्र कर्जा लगानी भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । कर्जा लगानी बढ्न नसक्दा र बजारमा बस्तू आयात गर्न नसक्दा व्यवसायीमा चरम निरासा देखिएको छ ।

अहिले सरकार एवं राष्ट्र बैंकले लिने नीति तथा आर्थिक मन्दीका कारण उधोगी व्यवसायीमा त्रासपुर्ण वातावरण सिर्जना भएको नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल बताउँछन । ‘सामान बजारमा ल्याएर बजार चलायमान बनाउँदा खोज्दा त्यसको रिकभरी हुन्छ कि हुँदैन भन्ने त्रास छ,’ उनी भन्छन, ‘हामीले नियमक निकायसँग माग राखेका थियौं, बजारलाई चलायमान बनाउनेको लागि एउटा विश्वासको वातावरण बनाईदिनुस भनेर । तर, नियमन निकायबाट नै निरासाको वातावरण सिर्जना भएको छ ।’

गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा एमदमै कम वस्तु आयाता हुने देखिएको उपाध्यक्ष ढकाल बताउँछन । अहिले व्यवसायीले सामान आयात गर्नुभन्दा भइरहेको सामानलाई बेच्नेमात्र योजना बनाएको समेत उनले जानकारी दिए । अहिले निजी क्षेत्र लगानी गर्न डराईरहेको अवस्था रहेको र यस्तो बेला नियमनकारी निकाले निजी क्षेत्रलाई झन समस्यामा पार्न खोजेको उनको बुझाई छ । ‘अहिले बैंकका तरलता छ भने चाँडवाँड लक्षित धेरै सामान खरिद बिक्री हुने समय पनि हो,’ उनी भन्छन्, ‘तर, सरकार र नियामक निकायबाट लगानीको सुरक्षा नभएको र यस्तो अवस्थामा उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टो धरपकडा गर्ने काम गरेकाले यसपटकको चावपर्व खासै उत्साहजनक हुँने अवस्था देखिएको छैन ।’

देशको अर्थतन्त्र सुधारमा सरकार र राष्ट्र बैंकबीचको समन्वय अभावका कारण अहिलेको अवस्था निम्तिएको एक व्यवसायीले जानकारी दिए । ‘राष्ट्र बैंक र अर्थ मन्त्रालय मिलेर अहिलेको समस्याको समाधान खोज्नु पर्ने थियो । तर, राष्ट्र बैंक र अर्थमन्त्रालयबीच समन्वयको एकदमै अभाव छ,’ ती व्यवसायीले भने, ‘ सरकारले एउटा नीति बनाउनु भनेको हुन्छ, राष्ट्र बैंकले अर्कै नीति अख्तियार गरिरहेको हुन्छ ।’ सरकार र राष्ट्र बैंकको समन्वय कम भएको कारण आर्थिक क्षेत्रमा चरम मन्दी आएको ती व्यवसायी आरोप छ ।

अहिलेको चरम आर्थिक मन्दीका कारण व्यवसायीमा नयाँ सामान ल्याउन एलसी खोल्ने उत्साह नै नभएको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन । ‘अहिले बजारमा लगानी भएको पैसा समेत नउठेको अवस्था छ भने बजारमा भएका सामान पनि बिक्री भैरहेको छैन,’ अग्रवाल भन्छन, ‘व्यवसायीले आफुसँग भएको पैसा पनि सेयर बजार, जग्गा लगायतका क्षेत्रमा लगानी गरेर फसेको अवस्था छ ।’ साथै कर्जाको ब्याज समेत उच्च भएका कारण व्यवसायीले वस्तु आयात गर्न नसकेको उनी बताउँछन ।

एकतर्फ राज्यको बाध्यताको कारण पनि आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन भने अर्कोतर्फ नेपालको आर्थिक अवस्था सकारात्मक नभएको कुरा अन्तराष्ट्रिय स्थरमा समेत परिसकेको उनको बुझाई छ । साथै सरकारको आम्दानी खस्कोका कारणले गर्दा प्नि आर्थिक क्षेत्रमा निरासा थपिएको छ । सरकारले पछिल्लो केहि समययता भुक्तानी गर्ने रकम नभएको भन्दै निमार्ण व्यवसायीको भुक्तानी समेत रोकेको व्यवसायीहरुको गुनासो छ ।

यसैगरी, सरकारले भन्सारको मूल्याङकन बढाएका कारण पनि व्यवसाय संकटमा जाने अवस्था रहेको अर्का एक व्यवसायी बताउँछन । सरकारले अहिले भन्सारको प्रोसेस नै झन्जटिलो बनाएकोले आयातमा समस्या देखिएको व्यवसायीहरुको बुझाई छ । बजारमा वस्तुको माग घटेको कारण यसपालीको चाडपर्व पुराना बस्तूबाट नै काम चलाउनु पर्ने अवस्था रहेको एक व्यवसायी बताउँछन् । उनी भन्छन, ‘भएको सामान बिक्री नभएर असन न्यूरोड तिर हरेक व्यवयायीले मालसामान सेलमा राखेका छन् । त्यसरी पनि बिक्री नहुँदा नहुँदा व्यवसायी सटर बन्द गरेर हिड्नुपर्ने अवस्था छ ।’ यसैगरी एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि गत वर्षको तुलनमा चाडपर्वलाई लक्षित गरी एलसी खोल्ने क्रम घटेको बताउँछन् । ‘अघिल्ला वर्षहरुमा चाडपर्व नजिकिएसँगै जसरी कर्जा लिने वा एलसी खोल्ने क्रम बढ्थ्यो त्यसमा अहिले सुस्तता आएको छ,’ उनले भने ।

यसकारण कारण देखियो आर्थिक मन्दीको समस्या

आर्थिक मन्दीको पहिलो कारण सरकारले वास्तविक क्षेत्रबाट पुँजी निर्माण गर्न नसक्नु हो । सरकारले वास्तविक क्षेत्रमा लगानी गरेर त्यस क्षेत्रबाट आम्दानी गर्नुपर्ने भएपनि त्यसो नहुँदा मुलुक आर्थिक मन्दीको चपेटामा परेको अर्थविज्ञ नरबहादुर थापा बताउँछन । सरकारले लक्ष्य अनुसारको राजस्व पनि संकलन गर्न सकेको छैन । सरकारका हरेक आम्दानीका क्षेत्रमा गिरावट आउँदा अहिलेको समस्या आएको थापा बताउँछन । ‘सरकारी क्षेत्रबाट पुँजी निर्माण नहुँदा देशमा चरम आर्थिक संकटको अवस्था देखिएको छ,’ उनी भन्छन, ‘लगानीयोग्य पुँजी नहुदा आयात घट्नुका साथै चाडवर्पको बेला समेत व्यवसायीले मालसामान आयात गर्न एलसी खोल्न सक्ने अवस्था छैन ।’

आर्थिक मन्दीको दोस्रो कारण पछिल्लो सयममा नेपालमा विदेशबाट आउने वैदेशिक लगानी धेरै नै गिरावट आउनु हो । वैदेशिक लगानी घटेको कारण नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी हुन सकेको छैन । यसले नेपालको आर्थिक क्षेत्रमा समस्या पारेको अर्थविज्ञ थापा बताउछन् । ‘विगतका वर्षहरुमा हेर्ने हो भने वार्षिक २०-२२ अर्बको वैदेशिक लगानी नेपालमा आउने गरेको थियो,’ उनी भन्छन, ‘तर अहिले खुम्चिएर ५ अर्बको हाराहारीमा झरेको छ । एकातर्फ वैदेशिक लगानी घटेको कारण अर्थतन्त्र चलायमान हुन सकेन भने अर्कोतर्फ आयात हुन सकेन ।’

अर्थतन्त्रमा मन्दी आउनुको तेस्रो कारण कोभिडको समयपश्चात नेपालमा एनजिओ आईएनजीओ लगानीमा गिरावट आउनु हो । त्यस्ता लगानी घट्दा आर्थिक मन्दीलाई चरम अवस्थामा पुर्याउन सहयोग गरेको थापाको भनाई छ । ‘कोभिडभन्दा पहिले नेपालमा ठूलो मात्रामा आईएनजीओ मार्फत फण्डहरु आईरहेको हुन्थ्यो । यस्ता संस्थाले दुरदराजमा गएर समाजलाई बिभिन्न खालका सहयोगहरु गरिहेका हुन्थे,’ उनले भने, ‘ तर अहिले त्यस्ता संस्थाहरु बन्द हुँदा धेरैले रोजगारी पनि गुमाएका छन् ।’ साथै त्यस्ता संस्थाले धेरै व्यक्तिलाई रोजगार दिएर कृषकलाई बिउ विजनदेखि बिभिन्न रोगका औषधि लगायत खाध्यन्नसम्म दिने गरेका थिए । जसले गर्दा बजार चलायमान बनाउन र समाजलाई बस्तू खरिद गरेर खानको लागि केहि हदसम्म सहयोग गरेको थियो । ती संस्थाले सभा सम्मेलनदेखि बिभिन्न कार्यक्रमहरु गर्दा होटल व्यवसाय लगायतका क्षेत्रहरु पनि चलायमान हुने र त्यसले आर्थिक क्षेत्र चलायमान बनाउको लागि सहयोग गरेको उनी बताउँछन ।

अर्थतन्त्रमा मन्दी आउनुको चौथो कारण बैंक तथा वित्तीय र बीमा कम्पनीको मर्जर तथा प्राप्ति पनि हो । मर्जर तथा प्राप्तीका कारण अहिले धेरै क्षेत्रमा कर्मचारीको संख्या घटेको र यसले बेरोजगारी बढाएको थापा बताउँछन् । यस्तै कारण वैदेशिक सहायतामा पनि गिरावट आउनु हो । वैदेशिक सयायता घटेपछि यसको भार पनि अर्थतन्त्रमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्