Logo

लेखा अधिकृतको कमाइ पौने ६ करोड : साढे चार करोड गैरकानूनी, अहिले भ्रष्टाचार मुद्दा

लेखा अधिकृतको कमाइ पौने ६ करोड : साढे चार करोड गैरकानूनी, अहिले भ्रष्टाचार मुद्दा



दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा जलस्रोत अनुसन्धान विकास केन्द्र ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

कार्कीले सार्वजनिक सेवामा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैंयाँ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । सो रकमको वैधानिक स्रोत नभेटिएपछि अख्तियारले अकुत सम्पत्ति बराबरको विगो कायम गरी जरिवानासमेत असुल गर्न माग दावी लिएको छ ।

उजुरी परेपछि अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३।०२।१७ देखि २०७९।०८।२८ सम्मको आयव्यय जाँच गरेको थियो । सो अवधिमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा आयतर्फ पारिश्रमिक आय, उनकी श्रीमतीको पारिश्रमिक आय, विभिन्न भत्ता आय, घर बहाल आय, बीमा परिपक्क आय, जग्गा बिक्री आय, बैंक व्याज आय, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा आय, ऋणबपत प्राप्त विप्रेषण आय गरी वैध आय र १ करोड ८ लाख ४८ हजार ५९० रहेको अख्तियारले बताएको छ ।

सोही अवधिमा कार्कीले गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बीमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, विभिन्न कम्पनीहरुको शेयर खरिद-लगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी ५ करोड ७५ लाख ८७ हजार ३७० देखिन आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

आयबाट उनको व्याय घटाउँदा हुन आउने ४,करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको हो । कार्कीको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट वैधानिकरुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने, कार्की र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्चस्तरको जीवन यापन गरेको प्रमाणित भएको अख्तियारको निष्कर्ष छ ।

सार्वनजिक पद धारण गरेका कार्कीले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले बताएको छ । अख्तियारले उनलाई प्रचलित कानुनअनुसार विगो बमोजिम जरिवाना र कैद सजायँ हुन तथा कार्कीले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाएको हाल कायम रहेको सम्पत्तिसमेतबाट विगो र जरिवाना गर्न माग गरिएको छ ।

यस्तै कार्कीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनीरुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती उर्मिला थापा कार्की समेतको नाममा जग्गाहरु खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खाताहरुमा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्न थापालाई समते प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL