Logo

चीनले काम शुरु नगर्दा हिलो र धूलोले भरियो चक्रपथ, नेपाल सर्भिस ट्रयाक निर्माणमा व्यस्त

चीनले काम शुरु नगर्दा हिलो र धूलोले भरियो चक्रपथ, नेपाल सर्भिस ट्रयाक निर्माणमा व्यस्त



कठमाडौं । काठमाडौं उपत्यकाको सवारी सञ्चालनमा महत्वपूर्ण रहेको चक्रपथको दोश्रो खण्ड आठ लेनमा विस्तार लामो समयदेखि अडकिएको छ । चिनियाँ सरकारको अनुदान रकममा निर्माण हुने दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले वेवास्ता गर्दा विस्तार प्रक्रिया लम्बिदै गएको छ । करिव ४ बर्ष अघिदेखि साइट क्लियरेन्स गरेपछि काम सुरु गर्ने बताएको चिनियाँ ठेकेदार कम्पनीले कहिलेदेखि शुरु गर्छ भन्नेमा अझै नेपाल विश्वस्त हुन सकेको छैन् ।

चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तारलगत्तै दोस्रो खण्ड (कलंकी–महाराजगंज) विस्तार गर्ने घोषणा चिनियाँ पक्षले गरेको थियो । तर, २०७६ मा पहिलो खण्ड विस्तार सम्पन्न गरिसकेपछि चिनियाँ टोलीले दोस्रो खण्डमा भने साइट क्लियर गरेपछि मात्रै काम सुरु गर्ने सर्त राखेको थियो । सोहीअनुसार करिव ४ बर्षसम्म नेपाली पक्षले उक्त करिव ८.४ किलोमिटर क्षेत्रको साइट क्लियर गर्ने काम सम्पन्न गरिसकेको छ । त्यति मात्रै होईन चिनियाँ पक्षले बनाउने भनेको चक्रपथको बीचको ८ लेनबाहेक बाहिरको ६ मिटरमा सर्भिस ट्रयाक बनाउने काम पनि अघि बढाइसकेको छ ।

साइडको सर्भिस ट्रयाक बनाउने र बीचको साइट क्लियरिङ गर्ने जिम्मा नेपालले पाएपनि सोहीअनुसार काम सम्पन्न भइसकेको काठमाडौं चक्रपथ सुधार योजनाका आयोजना प्रमुख बाबुराम सापकोटा बताउँछन् । उनका अनुसार चीनले काम सुरु गर्ने भनिएको ठाउँमा अब कुनै रोकतोक र अवरोध नभएपनि चीनले अझै काम सुरु गर्न सकेको छैन । ‘चिनियाँ पक्षले भनेको जसरी नै हामीले सबैजसो साइट क्लियरिङको काम ४ महिना अगावै सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘अब हामी हाम्रो जिम्माको साइड लेन पनि विस्तार गर्न अघि बढेका छौं तर, बीचको सडक धुलो र हिलोले हेरिनसक्नुभएको छ ।’

नेपाली पक्षले साइट क्लियर गरेर सम्पन्न गरिदिँदा पनि चिनियाँ पक्षले बीचको ८ लेन अर्थात २५ मिटर सडकको काम नगरिदिँदा कलंकीदेखि चक्रपथसम्म हिलो र धुलोले भरिभराउ हुन्छ । त्यो सडकमा यात्रा गर्ने जो कोही हिलो र धुलोसँगै नेपाली पक्षले साइट क्लियर गर्ने बेला थुपारेको सामानले समस्यामा पार्छ । तर, चिनियाँ पक्षले बीचको ८ लेनको काम चाँडै सुरु गरे त्यो अवरोध सबै हट्ने आयोजना प्रमुख सापकोटा बताउँछन् । हालसम्म चिनियाँ पक्षले यो सडकको डिजाइनसमेत नेपाली पक्षलाई उपलब्ध नगराएको उनले बताए । ‘हामीले साइट क्लियर गरिदिँदा किन उहाँहरुले हालसम्म डिजाईन नै नदिनुभएको वा सार्वजनिक नगर्नुभएको हो थाहा छैन,’ उनले भने, ‘तर सकेसम्म चाँडो काम सुरु गरेर सम्पन्न गर्न राम्रो हुन्थ्यो भन्ने हाम्रो भनाई हो ।’

यसअघि नेपालले चिनियाँ पक्षलाई उक्त सडकको डिजाइनमा केहि बिशेषता थपिदिन प्रस्ताव गरेको थियो । जसमा सडक बनाउँदा आकाशेपुलको सट्टामा अन्डरपास बनाउने, सडकको साइडलेनमा युटिलिटी करिडोर बनाउनेलगायतका बिषेशता डिजाइनमा थप्न आग्रह गरिएको छ । तर, चिनियाँ पक्षले सिमित स्रोत साधनका कारण उक्त विशेषताहरु थप गर्न नसक्ने बताएपछि नेपाल सरकारले नै यी विशेषतामा काम गर्ने योजना बनाएको थियो । जसका कारण पनि हाल नेपाली पक्षले युटिलिटी करिडोसहित उक्त क्षेत्रमा साइड लेन निर्माण गरिरहेको छ । जसको काम हालसम्म करिव ४० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ । यसअघि कोटेश्वरदेखि कलंकीसम्म ८ लेनमा सडक विस्तार गरिसकेको चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले नै कलंकीदेखि महाराजगंजसम्मको सडक चौडा गर्ने कार्य अघि बढाउन लागेको छ ।

त्यसको लागि डिजाइन तयार पारिसकेको बताएपनि नेपालले उनीहरुको आग्रहबमोजिम समयमै साइट क्लियरेन्सको काम अघि नबढाईदिँदा काममा ढिलो हुँदै आएको थियो । पहिलो खण्डको विस्तार सम्पन्न लगत्तै दोस्रो खण्डको विस्तार सुरु गर्ने बताइएपनि नेपाली पक्षले चिनियाँ पक्षको आग्रहअनुसार साईट क्लियरेन्सको काम सक्न ४ बर्षको समय लगाएको छ । चिनियाँ पक्षले यसपल्ट चक्रपथ विस्तार गर्दा हरियाली, आकाशेपुल, अन्डरवे, जेब्रा क्रसिङलगायत पहिलो खण्डमा भएका त्रुटि नदोहोर्याउने बताएको छ ।

चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो परेपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धाराको कल्भर्टसम्म पुर्याईएको छ । चिनियाँ पक्ष आएर हाल कलंकीदेखि बसुन्धारासम्म मात्रै विस्तार गर्नेछ । त्यसबीचमा महाराजगंजको समस्या समाधान भएमा महाराजगंजबाट पूर्वतिर पनि सडक विस्तारको काम अघि बढाउन सकिने सडक विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL