Logo

पुग्नै सकेन विकटमा बीमा : के भन्छ बीमा प्राधिकरण, कमजोरी कसको ?

पुग्नै सकेन विकटमा बीमा : के भन्छ बीमा प्राधिकरण, कमजोरी कसको ?



काठमाडौं । सरकारले बीमाको पहुँच देशभर पुर्याउने लक्ष्य राखेपनि सो लक्ष्य भने अपुरो बनेको छ । विकटमा बीमा सेवा पुर्याउन लघु बीमा कम्पनी पनि स्थापना भए तर, अझै विकटमा बीमा सेवाको पहुँच विस्तार सोचेअनुसार भएको छैन । । बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएसँगै नेपाल बीमा प्राधिकरणले विकट क्षेत्रहरुमा बीमाको पहुँच पुर्याउनकै लागि भनेर लघु बीमा कार्यक्रम पनि ल्यायो । त्यसले पनि नभएपछि लघु बीमा कम्पनीहरुलाई अनुमतिपत्रसमेत बाँड्यो तर, पनि बीमा कम्पनीहरु शहरकेन्द्रित नै भइरहँदा विकटमा बीमाको पहुँच पुग्न नसकेको हो ।

हालसम्म पनि कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशकै धेरैजसो स्थानमा बीमा सेवा पुगिसकेको छैन । बीमा प्राधिकरणको तथ्यांकलाई आधार मान्दा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा त जनसंख्याको एक चौथाई जनसंख्यासम्म पनि बीमा सेवा पुग्न सकिरहेको छैन् । तथ्यांकलाई आधार मान्दा कर्णाली प्रदेशमा हालसम्म जीवन बीमाका १ सय ४४ र निर्जीबन बीमाका जम्मा ४४ शाखा कार्यालय छन् । यो नेपालभर कुल शाखा संख्याको क्रमशः ६ र ४ प्रतिशत मात्रै हुन्छ । अर्थात नेपालभर निर्जीवन र जीवन गरी सबै बीमा कम्पनीहरुले कुल ३ हजार ६ सय ६६ शाखा कार्यालय संचालनमा ल्याएका छन् । त्यसको जम्मा ५ प्रतिशत शाखा कार्यालय मात्रै कर्णालीमा संचालित छन् ।

यता सुदूरपश्चिम प्रदेशको अवस्था पनि उस्तै छ । यहाँ पनि जीवन र निर्जीवन सबै बीमा कम्पनीका कुल ८ प्रतिशत शाखा मात्रै यो प्रदेशमा संचालनमा छन् । यहि तथ्यांकले पनि बीमा कम्पनीहरुको आकर्षण यी दुई प्रदेश अर्थात विकट स्थानमा नबढेको देखिएको छ । यता बीमा कम्पनीहरुको मुख्य आकर्षण रहेको बागमती प्रदेशमा मात्रै कुल बीमा कम्पनीका शाखामध्ये २५ प्रतिशत शाखा कार्यालय यहि प्रदेशमा छन् । यस्तै कुल शाखाका १४ प्रतिशत शाखा कोशी प्रदेशमा, १२ प्रतिशत मधेश प्रदेशमा, गण्डकी प्रदेशमा १० प्रतिशत र लुम्बिनी प्रदेशमा १४ प्रतिशत शाखा कार्यालय संचालनमा आएका छन् ।

यसरी हेर्दा बीमा कम्पनीहरु सबैभन्दा धेरै आकर्षित बागमती प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेश भने पछि परेको देखिन्छ । हुन त बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई विकटमा बीमा सेवा पुर्याउनकै लागि भन्दै विभिन्न स्किमहरु ल्याउँछ । लघु बीमाका कार्यक्रम ल्याएर संचालन पनि गर्ने गरेको छ । यति मात्रै होईन विकटमा बीमा सेवाको पहुँच विस्तार गर्नकै लागि भन्दै ४ नयाँ लघुबीमा कम्पनीको लाइसेन्स पनि वितरण गरिदिएको छ । तर, पनि बीमा कम्पनीहरु विकटका जनतासम्म बीमा सेवा विस्तार गर्न नमानिरहेको अवस्था छ ।

यसैको कारण भनौं चालु आवको साउन महिनामा कर्णाली प्रदेशमा जम्मा ३ हजार ३ सय ५८ बीमालेख मात्रै जारी भएका छन् । यो संख्या यहि अवधिमा देशभर भएको जारी बीमालेखको संख्याको जम्मा साढे एक प्रतिशत मात्रै हो । यस अवधिमा बीमालेख जारी पनि धेरैजसो अर्थात कुल बीमालेखको झण्डै आधाभन्दा बढी बीमालेख बागमती प्रदेशमा मात्रै भएका छन् । यता सुदूरपश्चिम प्रदेशमा पनि साउनमा नेपालभर जारी भएका बीमालेखमध्ये जम्मा साढे ४ प्रतिशत बीमालेख मात्रै जारी भएका छन् । यो संख्या निर्जीवन बीमातर्फको हो ।

यता जीवन बीमातर्फ पनि समस्या यस्तै छ । चालु आवको साउनसम्म बागमती प्रदेशमा मात्रै कुल बीमालेख जारी संख्याको ७१ प्रतिशत बीमालेख जारी भएका छन् । यहि अवधिमा यता कर्णाली प्रदेशमा भने कुल जारी बीमालेखको जम्मा १ प्रतिशत बीमालेख मात्रै जारी भएका छन् । यस अवधिमा नेपालभर कुल १ करोड ४० लाख २१ हजार बीमालेख जारी भएका छन् ।

यसरी बागमती प्रदेशको तुलनामा अन्य मोफसलका प्रदेशहरु बीमालेख जारीमात्रै नभएर बीमाशुल्क संकलनमा पनि धेरै पछि छन् । यो तथ्यांकहरुले मोफसलका प्रदेशहरु र त्यसैमाथि विकट जिल्लाहरुका विपन्न नागरिकसम्म अझै बीमा सेवा नपुगेको बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल पनि स्वीकार्छन् । नेपालमा हाल १४ ओटा जीवन र १४ ओटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । उनिहरु नै व्यवसायमुखी सेवा विस्तारमा लागेकैले बढी व्यवसाय भएको ठाउँमा मात्रै आकर्षित हुनेगरेको पाईएको छ । यहि सेवालाई विस्तार गर्नका लागि भर्खरै मात्रै लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिएको र यसले चाँडै सकारात्मक बाटो अंगाल्ने प्राधिकरणका अध्यक्ष सिलवालले बिजखबरलाई बताए । ‘विकट र दूर्गम क्षेत्रहरुका विपन्न नागरिकहरुमा बीमा सेवा पुर्याउन नसकिएको अवस्था छ,’ उनले भने, ‘यसको विस्तारका लागि भन्दै हामीले स्थानीय निकायसँग समन्वयदेखि जनचेतनाका कार्यक्रमहरु अघि बढाएका छौं अब बीमा सेवा विस्तारले बाटो समात्ला ।’

उनी विकट क्षेत्रहरुमा बीमाको जनचेतना नफैलिनु, विपन्नसँग बीमा प्रिमियम तिर्ने पैसा नै नहुनुलगायतका कारणले सबै क्षेत्रसम्म बीमाको पहुँच पुग्न नसकेको बताउँछन् । यता बीमा विज्ञ रविन्द्र घिमिरे भने बीमा व्यवसाय बढिरहेको बताउँछन् । बीमाशुल्क संकलन, बीमालेखको वृद्धि लगायत वृद्धि भइरहेको भएपनि सबै क्षेत्रसम्म यसको पहुँच भने पुर्याउन नसकिनुमा जनचेतना र गरिवी प्रमुख कारण भएको उनले बताए । सरकारले बीमाको नीति नै बनाएर कुनै न कुनै तवरबाट हरेक नागरिकलाई बीमा सेवा लिनैपर्ने बाध्यकारी व्यवस्था गरेमात्रै सबै क्षेत्र र तहसम्म यसको पहुँच पुग्ने उनी बताउँछन् । उनी बीमा कम्पनीहरु पनि व्यापारमुखी भएकाले शहरी र विकसित स्थानहरुमा यसको पहुँच उच्च भएपनि विकट र दुर्गम स्थानमा यसको पहुँच पुग्न नसकेको उल्लेख गर्छन् ।

हाल नेपालमा बीमा क्षेत्रको दायरा बढेर ४४ प्रतिशतसम्म पुगिसकेको बीमा प्राधिकरणले बताउँदै आएको छ । अझै यसको दायरा वृद्धि गर्नकै लागि भन्दै ४ ओटा लघुबीमा कम्पनीहरुलाई लाईसेन्स पनि वितरण गरिसकेको छ । अझै सबैजसो स्थानीय तहका जनताहरुलाई बीमाको दायरामा ल्याउनकै लागि भनै हरेकजसो स्थानीय तहसँग समन्वयका काम गरिरहेको प्राधिकरणले जानकारी दिएको छ । जसअनुसार हाल २०० बढी स्थानीय तहले प्राधिकरणसँग समन्वय गरेर आफ्ना स्थानीयलाई बीमाको दायरामा ल्याउने काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL