Logo

सेजन चुनाव : १० पदमा १८ जनाको उम्मेदवारी, महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित

सेजन चुनाव : १० पदमा १८ जनाको उम्मेदवारी, महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को महासचिव पदमा गोरखापत्रकर्मी विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । शनिबार हुने सेजनको साधारणसभाका लागि विभिन्न पदमा उम्मेदवारी दिने क्रममा महासचिव पदमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै सेजनको अन्य पदका लागि भने शनिबार नै चुनाव हुने भएको छ । जसमा अध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदका लागि २ जना, सचिवका लागि ३ जना, कोषाध्यक्षका लागि २ जना र सदस्यका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सदस्य बाहेक सबै पदमा एक एक जना चुनिने छन् । कार्यसमिति सदस्यामा भने ५ जना चुनिने व्यवस्था छ । यसरी हालसम्म सेजनको कार्यसमितिमा १० पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएकामा महासचिव पदमा एकल उम्मेदवारी परेको थियो ।

सेजनको अध्यक्ष पदका लागि क्यापिटल नेपालका सुजन ओली, कारोबार दैनिकका सरस्वती ढकाल र नेपाल लाईभ टुडेका शिरोमणि ढुंगानाले मनोनयद दर्ता गराएका छन् । यस्तै उपाध्यक्ष पदका लागि सेतोपाटी डट कमका भागवत भट्टराई र ग्यालेक्सी फोरके टेलिभिजनका विनय बञ्जरा प्रतिस्पर्धामा उत्रेका छन् ।

साथै सेजनको सचिव पदमा पनि त्रिपक्षिय भिडन्त हुने निश्चित भएको छ । यो पदका लागि क्लिकमान्डु डटकमका सोभित थपलिया, नयाँ पत्रिका दैनिकका मुना कुँवर र दि राइजिङ नेपालका रञ्जु काफ्लेले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै कोषाध्यक्ष पदमा अनलाइनखबरमा कार्यरत अच्युत पूरी र नेपाल टेलिभिजनमा कार्यरत कमला अर्यालले मनोनयन दर्ता गराएको सेजनले जानकारी दिएको छ ।

यता सदस्य ५ पदका लागि राष्ट्रिय समाचार समितिमा कार्यरत हेमन्त जोशी, बिजमाण्डु डटकममा कार्यरत बसन्तराज उप्रेती, उकालो डटकममा कार्यरत केशु लामिछाने, अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत ममता थापा, कारोबार दैनिकमा कार्यरत कौशिला कुँवर, नयाँ पत्रिका दैनिकमा कार्यरत पवन तिमिल्सिना र एनएन टिभीमा कार्यरत छविलाल सापकोटाले मनोनयन दर्ता गराएका छन् । यसका लागि भोली शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म चुनाव हुने तालिका तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्