Logo

मन्त्री फकाउने पर्यटन बोर्डका सिइओ डा.रेग्मीको प्रयास असफल, बजेट दुरुपयोग रोकेरै छाडने मन्त्रीको अडान

मन्त्री फकाउने पर्यटन बोर्डका सिइओ डा.रेग्मीको प्रयास असफल, बजेट दुरुपयोग रोकेरै छाडने मन्त्रीको अडान

बोर्डको पैसामा आफन्त घुमाउने र महंगा सामानहरू ल्याएर बाँड्ने र बेच्ने गरेको मन्त्रीको आरोप



काठमाडौं । पाँचवर्षे कार्यकालको अन्त्यतिर पुगेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी यतिबेला गम्भीर नैतिक संकटमा परेका छन् । बोर्डको नेतृत्वमा रहेर आफ्नो स्वार्थसिद्धिमा रमाइरहेका डा. रेग्मी यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनीमाथि गम्भीर आरोप लगाउँदै बोर्डको बजेट रोक्ने चेतावनी दिएपछि संकटमा परेका हुन् ।

पर्यटमन्त्रीमा किराँती आएसँगै सिइओ रेग्मीले मन्त्री किराँतीलाई आफ्नो पक्षमा पार्न निरन्तर पहल गरेका थिए । रेग्मीले मन्त्री किराँतीलाई आफै भेटेर तथा अन्य सुत्रसमेत प्रयोग गरेर आफ्नो पक्षमा पार्न प्रयास गरेपनि उनी असफल भएको मन्त्रालयका एक अधिकारीले बताए । सिइओ डा. रेग्मी आफ्नो स्वार्थसिद्धिका लागि मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्मलाई साम, दाम, दण्ड प्रयोग गरेर भएपनि आफ्नो पक्षमा पार्न माहिर मानिन्छन् । यस्तोमा तालुकवाला मन्त्रालयका मन्त्रीलाई आफ्नो पक्षमा पार्नसके बोर्डमा जे गरेपनि छुट पाइने उनको योजना यसपटक भने फेल खाएको छ ।

सिइओ डा.रेग्मीका विभिन्न काण्ड र चलखेलबारे जानकारी पाएका पर्यटन मन्त्री किराँतीले सिइओ डा. रेग्मीलाई सुध्रन सुझाव दिएपनि डा. रेग्मी भने बोर्डको बजेट निजी फाइदामा खर्च गर्ने, आफु निकटकालाई विभिन्न योजनाको ठेक्का दिएर कमिसन कुम्ल्याउने धन्दामा रमाइरहेपछि मन्त्री किराँती उनीसँग असन्तुष्ट छन् । डा. रेग्मी बोर्डमा सिइओ भएपछि बोर्ड विभिन्न काण्डमा बदनाम बन्दै गएको छ ।


यसै सन्दर्भमा मन्त्री किराँतीले पर्यटन बोर्डले सार्वजनिक गर्न ठीक्क पारेको आर्थिक वर्ष २०८०–२०८१ को बजेट नै पास नगर्ने अडानमा छन् । मन्त्री किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बुधबार एक सार्वजनिक कार्यक्रममै बताएका छन् । कार्यक्रममा किराँतीले पर्यटन बोर्डको बजेट नसँच्चिएसम्म हतारमा पास गर्न नसकिने बताउँदै भने–‘पर्यटन बोर्डको बजेट सँच्चिएन भने अझै आउँदैन । अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझ्याउनको लागि बजेट आउँदैन,’ किराँतीले भने, ’भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन । मैले सुरुमा नै बोर्डमा आएर भनेको छु । भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग छ । पर्यटन विभागले पर्यटनसम्बन्धि भौतिक संरचना निर्माण गर्ने हो । पर्यटनको प्रर्वद्धन बोर्डले गर्ने हो ।’

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको नाम नलिएको भएपनि मन्त्री किराँतीको भनाई भने उनीप्रति नै लक्षित थियो । मन्त्री किराँतीले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको भन्दै बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनको लागि तत्काल आउन नसक्ने स्पष्ट सन्देश पनि कार्यक्रममार्फत दिएका थिए ।

पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रर्वद्धन गर्ने रहेको मन्त्री किराँतीको भनाइ छ । बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको उनले बताए । आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचनामा हुने कमिसनको खेल शून्य बनाएर छाड्ने उनको प्रतिबद्धता छ । मन्त्री किराँतीले पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए । दुई छिमेकी राष्ट्रको जनसंख्या अर्बमा रहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

’भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भयो । म आइसकेको छु यो मन्त्रालयमा म हुन दिन्नँ । भौतिक संरचनामा कमिसन खेल शून्य बनाएर छोड्छु,’ किराँतीले भने, ‘चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्छ । भूटान र बंलादेशमा पनि जोड गर्नुपर्छ । नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूलाई पनि बनाउनु पर्छ । अनि मात्रै युरोपलाई पनि बनाउँला । त्यसैले यस्तो चिजहरु सँच्चिदैन भने पर्यटन बोर्डको बजेट आउँदैन ।’ भूटान, बंगलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने किराँतीको भनाइ छ । पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर प्रर्यटन प्रर्वद्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने उनले बताए । पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महङ्गा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्