Logo

साउनमा जीवन बीमा कम्पनीले उठाए १९ अर्ब ६० करोड बीमाशुल्क, कुन कम्पनीले कति ?

साउनमा जीवन बीमा कम्पनीले उठाए १९ अर्ब ६० करोड बीमाशुल्क, कुन कम्पनीले कति ?



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना (साउन)मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा ८ लाख ३२ हजार ७ सय ३९ बीमालेख जारी गर्दै उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्कमध्ये १७ अर्ब ३० करोड रुपैयाँ नविकरण बीमा शुल्क र २ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

चालु आवको साउन महिनामा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने जीवन बीमा कम्पनी भने नेपाल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले साउन महिनामा मात्र ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस्तै धेरै बीमाशुल्क आर्जन गर्ने दोस्रो कम्पनी भने राष्ट्रिय बीमा संस्थान छ । यसले पनि साउनमा ३ अर्ब ३४ करोड ३४ रुपैयाँ बीमाशुल्क संकलन गरको बीमा प्राधिकरणले जानकारी दिएको छ ।

यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८० करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको तेस्रो स्थानमा रहेको ।

साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले यस अवधिमा १ अर्ब ९२ करोड ५५ लाख, मेट लाइफले ४९ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ८१ करोड ९९ लाख र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै बीमा प्राधिकरणका अनुसार साउन महिनामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड ६२ लाख, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ३८ करोड ११ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ५७ करोड ९४ लाख, सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ४५ लाख र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड ८१ लख रुपैयाँ चालू आवको साउन महिनामा बीमाशुल्क संकलन गरेका छन् ।

चालू आवको साउन महिनामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ९३ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, यस अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ५४ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यस्तै यस अवधिमा दुई लघुजीवन बीमा कम्पनीहरुले पनि ४ सय ७४ बीमालेख जारी गर्दै ५ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL