Logo

६० किलो सुनकाण्डको अनुसन्धान गर्न एसएसपी दिनेश आचार्य हङकङ प्रस्थान

६० किलो सुनकाण्डको अनुसन्धान गर्न एसएसपी दिनेश आचार्य हङकङ प्रस्थान



काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी आचार्य गए राति हङकङ प्रस्थान गरेका हुन् ।

प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ । गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो । साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । विभागले तीन हप्ता अनुसन्धान गरेर संगठित अपराध कसुरमा अनुसन्धान गर्न सीआईबीको जिम्मा दिएको थियो ।

बरामद गरिएको ब्रेक शुभित्र रहेको सुन गालेपछि ६० किलो ७ सय १६ ग्राम रहेको छ । एसएसपी आचार्यले त्यहाँ स्थानीय प्रहरीको सहयोगमा सुन पठाउने गिरोहबारे अनुसन्धान गर्ने भएका छन्। प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार इन्टरपोलमार्फत स्थानीय प्रहरीसँग समन्वय भइसकेको छ । यस्तै चिनियाँ गिरोह नै संलग्न रहेको देखिएपछि त्यहाँ पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीले इन्टरपोल मार्फत पत्र पठाएको छ ।

नेपालमा भएको सुन तस्करीमा चिनियाँ नागरिकहरु नै मुख्य रुपमा संलग्न देखिएका छन् । पक्राउ परेका चिनियाँहरु विगत लामो समयदेखि नेपाल र भारतमा सुन तस्करीमा संलग्न रहेको भेटिएको छ । अहिले नेपालमा पक्राउ परेका तीन चिनियाँ विगतमा भारतमा सुन तस्करीमा संलग्न अभियोगमा कारबाहीमा परेपछि नेपालमा सुन तस्करी सुरु गरेको खुलेको सीआईबी स्रोतले जानकारी दिएको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा ७ जना चिनियाँसहित, भन्सार विभागका कर्मचारी र एजेन्ट गरी २३ जना पक्राउ परेका छन्। ती चिनियाँका भारतीय प्रेमिका महिलाहरु पनि पक्राउ परेका छन्। तर उनीहरुको सुन तस्करीमा संलग्नता भने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL