Logo

७२ अर्बको एमसीसी औपचारिक कार्यान्वयन आजबाट, व्याख्यात्मक घोषणासँग सहमत रहेको अमेरिकाको घोषणा

७२ अर्बको एमसीसी औपचारिक कार्यान्वयन आजबाट, व्याख्यात्मक घोषणासँग सहमत रहेको अमेरिकाको घोषणा



काठमाडौं। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । उपाध्यक्ष अलफोर्ड मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । एमसीसी परियोजना औपचारिक रूपमा कार्यान्वयन घोषणाका लागि उपाध्यक्ष अलफोर्ड नेपाल आएका हुन् । एमसीसी परियोजनाको बुधबार बाट औपचारिक रूपमा कार्यान्वयनमा जाँदैछ । क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने पनि कार्यक्रम छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने र १५ भदौमा अमेरिका फर्किने कार्यतालिका छ ।

एमसीसी औपचारिक सुरुवात भएको ५ वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यतात्मक अवस्था छ । त्यसरी हेर्दा १२ भदौ ०८५ मा यो परियोजना सम्पन्न भइसक्नुपर्छ । एमसीसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत हुनेछ । नेपाल सरकारअन्तर्गतको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजनाको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ । उक्त परियोजनामा नेपाल र अमेरिकाको संयुक्त लगानी छ ।

एमसीसीको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड डलर लगानी रहने बताइएको थियो । तर, चालु आर्थिक वर्षमा ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर (करीब ७२ अर्ब रुपैयाँ ) थपिएको छ । एमसीसी परियोजनाअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमी सडकखण्ड विस्तार तथा मर्मत हुनेछ । एमसीसी कार्यान्वयनका लागि नेपालले सन् २०१७ मा नै सम्झौता गरेको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा अमेरिका गएको टोलीले परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको थियो ।

उक्त सम्झौतालाई २७ फेब्रुअरी २०२२ मा संसदबाट अनुमोदन गरिएको थियो । संसदबाट अनुमोदन गर्ने विषयमा राजनीतिक दल र सांसदहरूबीच विवाद भएको थियो । लामो विवाद र रस्साकस्सीका बीचमा एमसीसी संसदबाट अनुमोदन भएको थियो । औपचारिक रूपमा कार्यान्वयन सुरु भएपछि १२ भदौ २०८५ मा परियोजना निर्माण कार्य सम्पन्न नभएमा नेपाल सरकारले आफ्नै लगानी लगाउनुपर्ने बाध्यता हुन्छ । एमसीसीले परियोजनाको भौतिक प्रगतिअनुसार मात्रै भुक्तानी दिने र समयमा परियोजना सम्पन्न नभए रकम नपठाउने सर्त रहेको छ ।

एमसीसीको व्याख्यात्मक घोषणासँग सहमत छौं

अमेरिकी राजदूताबासले गत बर्ष संसदबाट एमसीसी पारित हुँदा थपिएको १२ बुँदे व्याख्यात्मक घोषणासँग सहमत रहेको पुनः स्पष्ट पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्तारुढ दलका नेताले नै व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठाएपछि अमेरिकाले यस्तो प्रतिक्रिया जनाएको हो । ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौँ,’ अमेरिकी राजदूताबासले भनेको छ, ‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्नेलगायत कम्प्याक्टका शर्तहरूसम्बन्धी हाम्रो बुझाइसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ ।’

अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन (मंगलबार) पुनः सम्झौतालाई लिएर वक्तव्य जारी गरेको हो । नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL