Logo

उच्च ब्याज र राष्ट्र बैंकको चेपुवामा सेयर बजार, लगानीकर्ताले लिन छाडे मार्जिन कर्जा

उच्च ब्याज र राष्ट्र बैंकको चेपुवामा सेयर बजार, लगानीकर्ताले लिन छाडे मार्जिन कर्जा



काठमाडौं । पछिल्लो समय मार्जिन प्रकृतिको सेयर धितो कर्जा लिने ऋणीहरुमा गिरावट आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म सेयर धितोमा जाने कर्जा ५.२ प्रतिशतले घटेको छ । बैंकहरुको उच्च ब्याज र राष्ट्र बैंकले सेयर धितोमा दिने कर्जामा उच्च जोखिम भार र विभिन्न सर्त राखेपछि उक्त कर्जा घटेको सम्बद्ध सरोकारवालाहरु बताउँछन ।

तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रबाह गरेको छ । तर अघिल्लो आर्थिक वर्षमा यस्तो ऋण ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ लगानी भएको थियो । एक वर्षको अवधिमा यस्तो प्रकृतिको ऋण ५.२ प्रतिशतले घटेको हो । साथै सो अबधिमा १ करोड रुपैयाँभन्दा माथिको मार्जिन ऋण ४ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड रुपैयाँभन्दा तलको मार्जिन प्रकृतिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ प्रबाह भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अबधिमा त्यस्तो कर्जा ४६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी भएको थियो । पछिल्लो १ वर्षको अबधिमा १ करोडभन्दा रुपैयाँभन्दा तल ५० लाख भन्दा माथिको साना खालका मार्जिन कर्जा भने ११.५ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष १० अर्ब ५६ करोड ३ लाख रुपैयाँ यस्तो कर्जा लगानी भएकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा बढेर ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी भएको छ । यस्तै सो अबधिमा २५ लाखभन्दा माथि ५० लाखसम्मको मार्जिन प्रकृतिको कर्जा भने १५.९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा १५ अर्ब २० करोड ८ लाख रुपैयाँ लगानी भएको थियो ।

यसैगरी, २५ लाख भन्दा तलको मार्जिन कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.९ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा २५ लाखभन्दा तलको मार्जिन कर्जा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँमात्र लगानी भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ लगानी भएको थियो ।

चालु आवमा बढ्ने सम्भावना कत्तिको छ ?

चालु आर्थिक वर्षमा भने मार्जिन कर्जा बढ्ने सम्भावना रहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको सेयर धितोकर्जामा जोखिम भार घटाएको कारण थप सहज हुने सम्बद्ध बैंकरहरु बताउँछन । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १ सय प्रतिशतसम्म जोखिम भार कायम गरेको हो । यसअघि २५ लाख रुपैयाँभन्दा माथिको सेयर कर्जामा १ सय ५० प्रतिशतसम्म जोखिम भार कायम भएको थियो ।

यसैगरी, चालु आर्थिक वर्षमा सेयर धितोकर्जा बढाउन बैंकहरुले बिभिन्न योजनाहरु पनि ल्याउन थालेका छन् । केहि समय अगाडी एनआइसी एसिया बैंकले न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा योजना ल्याएको छ । जसअन्तर्गतको कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) व्यवस्थासहित बैंकले यस्तो अफर ल्याएको हो ।

बैंकहरुले यसरी योजना ल्याएर ऋण दिदा ग्राहकले सहज रुपमा कर्जा पाउँछन । यसले सेयर बजारमा जाने ऋण चालु आर्थिक वर्षको अन्त्यसम्म केहि बढ्ने सम्भावना रहन्छ । यसैगरी, गत आर्थिक वर्षमा चर्को ब्याजदरको कारण मार्जिक प्रकृतिको कर्जा घटेको सेयर बजारका एक जानकार बताउँछन ।

‘गत आर्थिक वर्षमा १६ प्रतिशतसम्म कर्जाको ब्याजदर पुगेको थियो । जसले गर्दा सेयर बजारका लगानीकर्ता पनि यस्तो ऋण लिन डराए,’ एक लगानीकर्ताले भने, ‘गत आर्थिक वर्षमा निक्षेपको ब्याजदर पनि १२ प्रतिशतको हाराहारीमा थियो । लगानीकर्ताले घट्दो बजारमा सेयर कर्जा लिन छाड्र मुद्दती निक्षेपमा पैसा राखे ।’ लगानीकर्ताले आफु ऋण लिएर लगानी गर्दा सेयर बजारमा जोखिम भएको कारण मार्जिन प्रकृतिको कर्जा घट्न गएको देखिन्छ । साथै पछिल्लो समय बजारमा उच्च तरलता ररहेको र कर्जाको ब्याज समेत घट्ने सम्भावना रहेकाले सेयर धितो कर्जामा प्रबाह हुने ऋण बढ्ने सम्बद्ध बैंकरहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्