Logo

कोरोनाका कारण सेवा रोकेको थाई एयरवेजले नेपालबाट पुनः उडान भर्ने, नियुक्त गर्यो जेनरल सेल्स एजेन्ट

कोरोनाका कारण सेवा रोकेको थाई एयरवेजले नेपालबाट पुनः उडान भर्ने, नियुक्त गर्यो जेनरल सेल्स एजेन्ट



काठमाडौं । कोरोना महामारीका कारण सेवा रोकेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनल कम्पनीले नोभेम्बरदेखी नेपालको लागि पुनः उडान सञ्चालनमा ल्याउने भएको छ । उडान सुचारु गर्नको लागि कम्पनीले नेपालको लागि जेनेरल सेल्स एजेन्ट नियुक्त गरेको हो ।

कम्पनीले गरेको उक्त नियुक्ति १ अगस्ट २०२३ बाट लागू भएको कम्पनीले जानकारी दिएको छ । सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ । यस साझेदारीमार्फत, थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्नेछ । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाई एयरवेजले नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामाझ विशेष स्थान राख्न सफल भएको छ ।

थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहेको छ । थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पून सञ्चालनमा आएको प्रति खुसी व्यक्त गरेका छन् ।

थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरुलाई समेत अभिवृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्