Logo

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक सकियो, एमाले अनुपस्थित

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक सकियो, एमाले अनुपस्थित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सकिएको छ । समसामयिक राजनीतिक विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले दलका नेताहरूलाई शीतल निवास बोलाएको बैठक करिब ४५ मिनेटसम्म चलेको थियो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय मान्यता प्राप्त सबै दललाई बैठकमा बोलाए पनि प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएन । बैठकमा सत्तारुढ दलसहित प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सहभागी भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका शीर्ष नेताहरुको उपस्थिति थियो ।

बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे राष्ट्रपतिसमक्ष जानकारी लिने/दिने काम भएको नेताहरुले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपितले चासो देखाएका हुन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग छलफल गरेका थिए ।

सोमबार राति सिंहदरबारमा दलहरुको बैठकमा सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमति जुटिसकेकाले यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको नेताहरुले जनाएका छन् । उच्चस्तरीय छानबिन समिति गठनमा सहमति जुटेकाले आजदेखि संसदको अवरोध भने हट्ने भएको छ । दलहरुले सुन तस्करी प्रकरणको छानबिनको कार्यविधि बनाउन एक कार्यदल बनाएका छन् र कार्यदलले आजैदेखि काम शुरु गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL