Logo

भारतले निर्णय गरेको भोलिपल्टै किन महँगिन्छ नेपाली बजार ? चामलपछि प्याजमा पनि उपभोक्ता ठगिदै

भारतले निर्णय गरेको भोलिपल्टै किन महँगिन्छ नेपाली बजार ? चामलपछि प्याजमा पनि उपभोक्ता ठगिदै



काठमाडौं । कुनैबेला राजनीतिक वृत्तमा एउटा भनाई चर्चित थियो ‘दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओडछन’ भन्ने । यसको तात्पर्यचाहिं भारतको राजधानी दिल्लीमा हुने राजनीतिक निर्णयको नेपालको राजधानी काठमाडौंमा कस्तो प्रभाव छ भन्ने हो । साँच्चै दिल्लीको यस्तो प्रभाव नेपालमा अनन्तकालसम्म लम्बिइरहने देखिन्छ । किनकी विगतमा राजनीतिक रुपमा दिल्लीबाट प्रभावित हुँदै आएको नेपाल अहिले भने आर्थिक रुपमा पनि पूरै प्रभावित हुन थालेको छ । भारतले आफ्नो देशको अर्थतन्त्रमा दुरगामी प्रभावदेखि तात्कालिक प्रभावका निर्णयहरु गर्नेवित्तिकै अहिले नेपालीको भान्सा प्रभावित हुन थालेको छ ।

केही समयअघि भारतले बासमती बाहेककको चामल निर्यातमा प्रतिबन्ध लगायो । त्यसको भोलिपल्टै नेपालमा प्रतिबोरा (२५ केजी) चामलको मूल्यमा ५ सय रुपैयाँसम्म वृद्धि भयो । जुन क्रम अहिले पनि जारी छ । सरकारले पुरानै मूल्यमा व्यापारीलाई चामल विक्रि गर्न निर्देशन दिएपनि सरकारको निर्देशन कसैले मानेनन र उपभोक्ता एकैपटक ठूलो मूल्यवृद्धिको ठगीमा परे ।

अहिले फेरि अवस्था त्यस्तै आएको छ । भारतको वित्त मन्त्रालयले गएको शनिबार एक सार्वजनिक सूचना जारी गर्दै अब प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने जानकारी दियो । लगत्तै यसको हल्ला चौतर्फी फैलियो । खासगरी भारतीय प्याज उपयोग गर्ने नेपाल म्यानमार, भुटानलगायतका देशमा यो खबर पुर्ण रुपमा चाँडो फैलियो । भारत विश्व बजारमै प्याज निर्यात गर्ने सबैभन्दा ठुलो मुलुक भएकै कारण यसको प्याज उपयोग गर्ने देशमा प्याजको मूल्य बढ्ने अवस्था स्वभाविक भएपनि भारतबाट बढेको मूल्यको प्याज नआउँदै नेपालमा भने प्याजको मूल्य करीब ५० प्रतिशतसम्मले महँगो भइसकेको छ । यसले दिल्लीको निर्णयको प्रभाव नेपालमा कस्तो पर्न थालेको छ भन्ने स्पष्ट हुन्छ ।

यसकारण बढ्छ मूल्य

भारतले आफ्नो देशमा लगातार मूल्य बढेपछि बाहिरिने प्याजलाई रोक्न निर्यातमा कर उच्च लगाएको बताएको छ । यसको प्रमुख असर नेपाललाई पर्ने निश्चितजस्तै छ । नेपालले बर्षेनी औसतमा ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको प्याज आयात गरेर खपत गर्दै आईरहेको छ । त्यसमध्ये पनि भारतबाट मात्रै बार्षिक औसतमा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको प्याज आयात हुने गरेको छ । अर्थात नेपालमा आयात हुने प्याजमध्ये करिव ९८ प्रतिशत प्याज भारतबाट नै आयात हुन्छ ।

यसरी नेपालमा खपत हुने प्याजको ठुलो हिस्सा भारतले नै ओगटेपछि पनि अब नेपाली भान्सा महंगो हुने निश्चित भएको हो । नेपाली भान्सामा मसला र तरकारीका रुपमा प्रयोग गरिने प्याज अब भने महंगिने पक्का भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । समितिले निकाल्ने दैनिक मूल्यसूचीले पनि प्याजको मूल्य एक दिनमै उच्च बढेको देखिएको छ । समितिका अनुसार आईतबारसम्म प्रतिकिलो ६१ रुपैयाँमा विक्री वितरण भईरहेको प्याजको मूल्य सोमबार नै एकाएक प्रतिकिलो १७ रुपैयाँले बढेर प्रतिकिलो ७८ रुपैयाँ पुगिसकेको छ । यसले आगामी दिनमा पुनः प्याजको मूल्य लगातार उकालो लाग्ने देखाइसकेको छ ।

यता प्याज आयातको कुरा गर्दा पनि गत आर्थिक बर्ष मात्रै नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको १८ लाख मेट्रिकटन प्याज आयात गरेको छ । यसबाट नेपालले ७७ करोड ८० लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो । हालसम्मको तथ्यांक हेर्दा नेपालमा भारत, चीन, ईजिप्ट, अष्ट्रेलियालगायत ८ देशबाट प्याज आयात हुनेगरेको छ । त्यसमध्ये भारतले मात्रै नेपालमा आयात हुने कुल प्याज आयातको ९८ प्रतिशत हिस्सा ओगटेको छ । पछिल्लो ५ बर्षकै तथ्यांक हेर्दा पनि नेपालले भारतबाट २३ अर्ब ४० करोड रुपैयाँ बराबरको प्याज आयात भएको छ ।

जसमध्ये सबैभन्दा बढी प्याज गत आर्थिक बर्ष नै आएको देखिन्छ । त्यसअघिको आर्थिक बर्ष २०७८÷७९ मा ६ अर्ब १७ करोड रुपैयाँ बराबरको प्याज आयात भएको पाईएको छ । यसरी नेपालमा आउने प्याजको ठुलो हिस्सा भारतले ओगटेको र त्यसमाथि प्याजको निर्यातमै ४० प्रतिशत कर लगाईदिएपछि यसको प्रमुख असर नै नेपाललाई परेको देखिन्छ ।

भारतले निर्यातमा कडाई गर्दा स्वभाविकरुपमै भारतबाट आयात हुने वस्तु नेपालमा महँगो हुने भएपनि भारतले निर्णय गरेको भोलिपल्टै नेपालमा महँगो हुनु भनेको चाहिं कालोबजारी भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । ‘व्यापारी र सरकारको मिलेमतोमा अहिले नेपालमा जे गरेपनि छुटको अवस्था छ । यसले गर्दा उपभोक्ताले चरम महँगी भोग्नुपरिरहेको छ । चामल र प्याजमा पनि कालोबजारी भएको स्पष्ट देखिन्छ । तर, कारवाही कसले गर्ने ?’ ती अधिकारकर्मीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL