Logo

साउनदेखि विदेशबाट काँचो सुन/चाँदी ल्याउन नपाइने,१ लिटरभन्दा बढी मदिरा जफत गरिने

साउनदेखि विदेशबाट काँचो सुन/चाँदी ल्याउन नपाइने,१ लिटरभन्दा बढी मदिरा जफत गरिने


बिजखबर संवाददाता
0
Shares

आगामी साउन १ गतेदेखि विदेशबाट काँचो सुन वा चाँदी ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । सरकारले लागु गरेको सो व्यवस्था विपरीत कुनै पनि यात्रुले काँचो सुन र चाँदी ल्याएको भेटिएमा उक्त सामान जफत गरी कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अब विदेशबाट आउने यात्रुले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५ सय ग्रामसम्म र रु एक लाख मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना मात्र ल्याउन पाउनेछन् ।

यसअघि ५० ग्रामसम्म काँचो सुन र ५ सय ग्रामसम्मको काँचो चाँदी महसुल नतिरी ल्याउन पाउने व्यवस्था थियो । हाल सो व्यवस्था खारेज गरिएको भन्सार विभागका निर्देशक सूर्यप्रसाद सेढार्इंले जानकारी दिए ।

यही असार मसान्तसम्म छ महिनाभन्दा कम विदेशमा बसी आउने नेपालीले ४ सय ग्रामसम्म सुन तथा सुनको गहना र छ महिनाभन्दा बढी विदेशमा बसी आउने नेपाली यात्रुले ५ सय ग्रामसम्म सुन तथा सुनको गहना तथा एक हजार ग्रामसम्म चाँदी तथा चाँदी गहना तोकिए बमोजिमको महसुल बुझाइ ल्याउन सक्ने सुविधा छ । सरकारले यी सबै व्यवस्था समेत खारेज गरेको छ ।

कार्यालयले विदेश जाने नेपाली यात्रुले अति आवश्यक कारणले ५० ग्रामभन्दा बढी परिणामको सुनको गहना र ५ सय ग्रामभन्दा बढीको चाँदीको गहना आफूसाथ लैजानुपरेमा नेपालमा खरिद गरिएको प्यान नं भएको बिल लगायत प्रमाण संलग्न विवरण भन्सार कार्यालयमा बुझाउनुपर्ने जनाएको छ ।

भन्सार कार्यालयले पेस भएको फाराम बमोजिम लैजान लागेका गहना दुरुस्त पाइएमा लगत राखी एकप्रति लगत पुर्जा उपलब्ध गराउनेछ । सोही व्यक्ति पुनः नेपाल फर्की आउँदा भन्सार क्षेत्रमा सो लगत पुर्जा देखाएका खण्डमा लगत भिडेका गहना जाँच पास गरिनेछ र लगत नभिडेका गहना जफत गरी कारबाही गरिनेछ ।

त्यस्तै कुनै पनि यात्रुले आफूसाथ लिई आएको एक लि मदिरा महसुल नतिरी ल्याउन पाउने तर त्यसभन्दा बढी मदिरा ल्याएमा जफत गरी कानुनी कारबाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्