Logo

गत बर्ष जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४२ अर्ब बीमाशुल्क, बागमतीबाट मात्रै ६३ अर्ब संकलन

गत बर्ष जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४२ अर्ब बीमाशुल्क, बागमतीबाट मात्रै ६३ अर्ब संकलन



काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांक अनुसार १५ जीवन बीमा कम्पनी र २ ओटा लघुजीवन बीमा कम्पनीले १ करोड ४१ लाख ३७ हजार बीमालेख विक्री गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

जसमध्ये सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्सुरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले गत आवको असार मसान्तसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीहरुको दोस्रो स्थानमा एलआइसी नेपाल रहेको छ । यो कम्पनीले गत आवभरी १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । तेस्रोमा नेशनल लाइफले १६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गर्दा हिमालयन लाइफले १४ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरी चौथो स्थानमा रहेको छ ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड, एशियन लाइफले ७ अर्ब १ करोड, सिटिजन लाइफले ५ अर्ब ८९ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ मेट लाइफले ५ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, आइएमई लाइफले ४ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड, सन नेपाल लाइफले ३ अर्ब ७८ करोड, प्रभु लाइफले २ अर्ब ७ करोड र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यी सबै कम्पनीले आर्जन गरेको बीमाशुल्क अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा भने ३ अर्ब ६६ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा सबै जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

बागमती प्रदेशबाट मात्रै उठ्यो ६३ अर्ब

गत आर्थिक बर्षभरी नेपालमा संचालित सबै जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बागमती प्रदेशबाट आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार यो प्रदेशबाट बीमा कम्पनीहरुले ६३ अर्ब ९ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका हुन् ।

यो प्रदेशमा हालसम्म १ करोड ३० हजार सक्रिय बीमालेख जारी भएका छन् । यस्तै यसै अवधिमा बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट २१ अर्ब १९ करोड, कोशी प्रदेशबाट १७ अर्ब ५९ करोड, गण्डकीबाट १४ अर्ब २२ करोड र मधेश प्रदेशबाट १३ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै यसै अवधिमा सुदूरपश्चिमबाट ७ अर्ब ५५ करोड र कर्णाली प्रदेशबाट ५ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL