Logo

अब ‘एनपी डोमेन’ सरकारले नै वितरण गर्ने, कार्यविधि बनाउँदै मन्त्रालय

अब ‘एनपी डोमेन’ सरकारले नै वितरण गर्ने, कार्यविधि बनाउँदै मन्त्रालय



काठमाडौं । सरकारले डट कम डट एनपी (.com.np) डोमेनलाई आफ्नो मातहतमा ल्याउने भएको छ । यसअघि निजी कम्पनी मर्कन्टायल कम्युनिकेसनको मातहतमा रहेको उक्त डोमेन नेम अब सरकारले नै वितरण गर्ने तयारी थालेको हो । हुन त संचार तथा सूचना प्रविधि मन्त्रालयले विस २०७६ सालमै एक बर्षभित्रै यसको व्यवस्थापनको जिम्मेवारी सरकारले लिने घोषणा गरेको थियो । तर, हालसम्म पनि विभिन्न कारणले रोकिएको यो काम अब कार्यान्वयनमा जान लागेको संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

हाल यसलाई सरकारको मातहतमा ल्याउनकै लागि छोटो समयमै ३ देखि ४ ओटासम्म चरणवद्ध छलफल मन्त्रालयले आयोजना गरेको थियो । उक्त छलफलहरुले अबको केहिदिनमा यसको कार्यविधि नै ल्याउनेगरी तयारी गरेको उनको भनाई छ । यसअघि नेपाली डोमेनको चरम दुरुपयोग भएको भन्दै २ सय ७६ मा प्रधानमन्त्री कार्यालयले नै यसलाई सरकार मातहत ल्याएर डोमेनमा शुल्क पनि लगाउने बताएको थियो । त्यसपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एनपी डोमेन नियमन तथा व्यवस्थाप गर्ने गरी आवश्यक राय सुझाव दिन सूचना प्रविधि विभागका तत्कालिन महानिर्देशक प्रेमशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।

उक्त समितिले ३ फरक मोडालिटीमा एनपी डोमेन ब्यवस्थापन गर्ने गरी सुझाब दिएको थियो । जसमा सरकार रजिस्ट्रीको रुपमा रहने अर्थात् सरकारले नियमन गर्ने र कुनै कम्पनीलाई रजिस्ट्रेसनको जिम्मा दिन सक्नेछ । त्यस्तै रजिस्ट्री र रजिस्ट्रेसन दुवै काम सरकारले नै गर्न सक्ने गरी अर्को मोडालिटी पनि उक्त समितिले दिएको थियो जसमा नियमन र रजिस्ट्रेसनको दुबै काम सरकारले नै गर्ने छ । तेस्रो मोडालिटीमा सरकारले नियमन र व्यवस्थापन दुवै आफैले गरे पनि सञ्चालनका लागि आउटसोर्स नियुक्त गर्न सक्ने उल्लेख थियो । सोही मोडालिटीहरुमा टेक्दै कुनै एक मोडालिटी चयन गरेर यसको कार्यविधि बनाउने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

‘हामीले एनपी डोमेन सरकारको मातहतमा रहने वा सरकारको उचित नियमन हुनेगरी काम अघि बढाईसकेका छौं,’ मन्त्रालयका प्रवक्ता सुवेदीले भने, ‘हालसम्म यसको व्यवस्थापन गरिरहेको निजी कम्पनीलाई धन्यवाद दिएर हामी हाम्रो मातहत ल्याउँदैछौं ।’ यस्तै यसै बिषयमा दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले पनि हरेक बर्ष एनपी डोमेनलाई सरकार मातहत ल्याउने भन्दै नीति तथा कार्यक्रम बनाउँदै आएको छ । अब भने प्राधिकरणको नीति तथा कार्यक्रम, प्रधानमन्त्री कार्यालयको घोषणा र संचार मन्त्रालयको निर्णयले सार्थकता पाउने छाँट देखिएको हो ।

नेपालको पहिचान र साइवर सुरक्षासँगै जोडिएको एनपी डोमेन सरकारको मातहतमा आउँदा २१ बर्षदेखि यसको व्यवस्थापन गरिरहेको मर्कन्टायल कम्युनिकेसनमा रहनेछैन । खासगरी वेबसाइटको नामलाई डोमेन भनिन्छ । संसारभर एउटै इन्टरनेट सञ्जालमा जोडिएकोले एउटा नामबाट एउटा मात्र वेबसाइट सञ्चालन गर्न सकिन्छ । सबै देशका डोमेनको दर्ता र व्यबस्थापन अमेरिकास्थित आइक्यान नामक संस्थाले गर्दछ ।

डट एनपी नेपालको पहिचान जोडिएको डोमेन हो । सबै देशले यस्ता डोमेन प्रयोगमा ल्याएका छन् । बेलायतले डट को डट युके, भारतले डट आइएन, चीनले डट सिएन, यस्तै । डट कम, डट ओआरजीमा मात्र टुंगिनेलाई टप लेभल डोमेन (टिएलडी) भनिन्छ भने डट एनपी जस्ता देशको पहिचान जोडिएकालाई कन्ट्री कोड टप लेभल डोमेन (सिसि–टिएलडी) भनिन्छ । नेपालमा डट एनपी डोमेन दर्ता र व्यवस्थापनका लागि आइक्यानले सन १९९५ देखि मर्कनटायल कम्युनिकेसन्सलाई दिँदै आएको छ । हालसम्म एनपी डोमेन २ लाख बढी वितरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्