Logo

पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क, शुक्रबारसम्म सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा

पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क, शुक्रबारसम्म सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा



काठमाडौं । आँखा पाक्ने रोगको संक्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ ।

मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको संक्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालले जनाएका छन् । अस्पतालमा आजदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधि समेत वितरण गरिने छ ।

बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । आँखा समस्याका बिरामीका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा इलिया श्रेष्ठले बताइन् ।

पोखरा महानगरले रोगको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधबारदेखि शुक्रबारसम्म महानगर मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालय सेंडक्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL