Logo

पाच महिनासम्म किन लागू भएन पेट्रोलियमको स्वचालित मुल्य ?

पाच महिनासम्म किन लागू भएन पेट्रोलियमको स्वचालित मुल्य ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल आयल निगमले महिनै पिच्छे पेट्रोलियम पदार्थको स्वचालित मुल्य कार्यान्वयन गर्ने भने पनि ५ महिना यता लागू हुन सकेको छैन । हाल निगमले फेबु्रवरीमा लागू गरेको मुल्यलाई नै आधार मानेर पेट्रोलियम पदार्थ विक्री गर्दै आएको छ ।

नेपालले पेट्रोलियम पदार्थको मुल्यलाई अन्तरराष्ट्रिय बजारसँग समायोजन गर्ने लक्ष्य अनुरुप स्वचालित मुल्य लागू गरेको थियो । तत्कालिन वाणिज्य तथा आपूर्ति मन्त्री शुनिलबहादुर थापाले २०७१ असोजबाट स्वचालित मुल्य लागू गरेका थिए । त्यसयता लगातार स्वचालित मुल्य कायम भए पनि विगत ५ महिना यता लागू हुन सकेको छैन ।

पेट्रोलियम पदार्थको स्वचालित मुल्य कार्यान्वयनमा ल्याउने आधिकारीक निकाय नेपाल आयल निगम भने नयाँ मुल्य लागू गर्दा बजारमा भाउ बढ्न जाने भएकाले तत्कालका लागि रोकिएको बताउँदै आएको छ । ‘केही समय यता अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएको छ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘सोही अनुरुप मुल्य कायम गर्दा उपभोक्तालाई थप भार पर्न जाने छ ।’

प्रवक्ता घिमिरेका अनुसार निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा नेपालमा पनि सोही अनुरुप समायोजन गरिएको थियो । तर, मुल्य बढ्न थालेपछि स्वचालित मुल्यलाई थाती राखिएको हो । ‘अहिले पनि रक्सौल र विरगञ्जको मुल्य तुलना गर्ने हो भने भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर २० रुपैयाँ सस्तो पर्न आउँछ,’ उनले भने ।

निगमले जुलाईको मुल्यलाई हेरेर नेपालमा नयाँ मुल्य लागू गर्ने वा नगर्ने भन्ने विषयमा टुङ्गो लगाउने भएको छ । ‘यदि जुलाईमा पनि अझै मुल्य बढेर आयो भने सोही अनुरुप समायोजन गर्ने छौं,’ उनले भने, ‘अन्तरराष्ट्रिय बजारमा यही मुल्य कामय रहयो भने फ्रेब्रुवरीको मुल्यलाई नै कामय गरिन्छ ।’

निगमले त्यतिवेला अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रति व्यारेल २८ डलर हँुदा मुल्य समायोजन गरेको थियो । मुल्य समायोजन गर्दा नेपाली बजारमा पेट्रोलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ र डिजेलको मुल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरेको थियो । त्यसैगरी, मट्टी तेल प्रतिलिटर ७५ रुपैयाँ र हवाइ इन्धनको प्रतिलिटर मुल्य १ सय ९ रुपैयाँ कायम गरिएको थियो । हाल अन्तरराष्ट्रिय बजारमा कच्चा तेलेको मुल्य झण्डै दोब्बरले बढेर प्रति व्यारेल ५० दशमलव ६१ डलर पुगेको छ । यसलाई आधार मानेर मुल्य समायोजन गर्ने हो भने नेपाली बजारमा पेट्रोलियम पदार्थको मुल्य उच्च रुपमा बढ्ने छ ।

तर, यितिवेला अन्तरराष्ट्रिय बजारमा कच्चा तलेको मुल्य उच्च रुपमा घट्दा पनि निगमले सोही अनुरुप नेपाली बजारमा मुल्य समायोजन गरेको थिएन । जसले गर्दा हाल अन्तरराष्ट्रिय बजारमा उच्च रुपमा बढ्दा पनि निगमले सोही अनुरुप मुल्य बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL