Logo

कर्णाली सरकारले बार्षिक १० हजारलाई रोजगारी दिने प्रक्रिया अघि बढायो, स्वरोजगार कोषसँग सहकार्यको तयारी

कर्णाली सरकारले बार्षिक १० हजारलाई रोजगारी दिने प्रक्रिया अघि बढायो, स्वरोजगार कोषसँग सहकार्यको तयारी



काठमाडौं । कर्णाली प्रदेश सरकारले वार्षिक दश हजारलाई रोजगार दिने लक्ष्य पूरा गर्ने उद्देश्यसहित विभिन्न निकायसँग छलफल सुरु गरेको छ ।

प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान सुरु गरेको प्रदेश सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग छलफल गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)सँग सोमबार यस विषयमा छलफल भएको हो ।

छलफलमा मुख्यमन्त्री शर्मासँग कोषका उपाध्यक्ष डा रोकाले कर्णालीमा लगानीको अवस्था, त्यसको प्रभाव र आकर्षण कस्तो रहेको छ भन्नेबारे जानकारी लिए । यस विषयमा मुख्यमन्त्री शर्माले कर्णालीको विकासको सम्भावना, लगानी तथा हालसम्म भएका गतिविधिका बारेमा बताए ।

‘हामीबीच मूलतः कर्णालीमा उत्पादित जडीबुटी तथा रैथानेबालीको व्यवस्थित निर्यातका लागि कर्णाली हाउस निर्माणलगायतका महत्वपूर्ण विषयमा छलफल भएको भयो,’ उनले भने, ‘यसमा कोषले प्रदेश सरकारको लक्ष्य र अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।’

मुख्यमन्त्री शर्मासँगको छलफलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा रोका, कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, कानुन तथा असूली शाखा प्रमुख लोकबहादुर खड्का, कर्णाली र गण्डकी प्रदेश अनुगमन अधिकृत जनकप्रसाद पाण्डेको सहभागिता थियो ।रासस

प्रतिक्रिया दिनुहोस्