Logo

सडक भासिँदा पृथ्वी राजमार्ग र बाढीले बीपी राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

सडक भासिँदा पृथ्वी राजमार्ग र बाढीले बीपी राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो । सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनले बताए । ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।

बाढीले बीपी राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

पूर्वी नेपालर्तफ जाने बीपी राजमार्ग बाढीका कारण अवरुद्ध भएको छ । लगातारको वर्षापछि राजमार्गका विभिन्न ठाउँमा बाढी र पहिरो झरेको छ ।

राजमार्गअन्तर्गतका कयौँ खहरेमा उर्लिएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध बनेको हो । काभ्रेको रोशी गाउँपालिका–११, कालढुङमा खहरेको बाढीले सडकको केही भाग नै बगाएर लगेको छ । त्यसका कारण सयौँ गाडी र हजारौँ यात्रु चार घण्टादेखि अलपत्र अवस्थामा छन् ।

बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डअन्तर्गत काभ्रेको मंगलटारमा लेदोसहितको पहिरो झरेर यातायात अवरुद्ध भएको छ । उता सिन्धुलीको दुम्जामा माथिबाट लेदो खसेर राजमार्ग अवरुद्ध भएको छ । अर्कातिर मात्ती र भ्याकुरे खोलामा बाढी आएर सवारी आवतजावत पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL