Logo

कृषि विकास बैंकको नाफामा छलाङ, ४५.९८ प्रतिशतले बढ्यो नाफा

कृषि विकास बैंकको नाफामा छलाङ, ४५.९८ प्रतिशतले बढ्यो नाफा



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्ष २३ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको खुद ट्रेडिङ्ग आम्दानी, गत आर्थिक वर्षमा बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। जसका कारण बैंकको कुल सञ्चालन आम्दानी ७.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस अवधिमा बैंकको सञ्चालन मुनाफा २६.०७ प्रतिशत बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २१ पैसा बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा रहेको छ। १३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
MBL