काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि मात्रै बस सेवा सञ्चालन गरेर भोटका लागि सस्तो राजनीति गरेको टिप्पणी गरेका छन् । उनले यस्ता विषयमा सबै गम्भीर हुनुपर्ने समेत बताएका छन् ।
प्रतिनिधिसभा सदस्य बनेको १०० दिन पुगेको अवसरमा बुधबार रास्वपा सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन– २ मा महिलाका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याएका थिए । सोही विषयलाई लिएर महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना नदेखिएको जिकिर गरेका छन् ।
महासचिव पोखरेलले चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्न आग्रह समेत गरेका छन् । उनले रास्वपाले महिलाका लागि मात्रै भनेर सार्वजनिक यातायातको सुरूवात गरेको सुन्दा हामी कता जाँदैछौं भन्ने प्रश्न उठेको बताएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुनियाका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद बाहेक महिलाहरू सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभाविक हो । नेपाली समाजमा यतिबेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ ।’
उनले लेखेका छन्, ‘चितवन महिला जागरण र जागृतिको थलो हो । पञ्चायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ । नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं । चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं ।’