Logo

सुन प्रकरणमा मेरो संलग्नता छैन, नाम र फोन नम्बर मेरो होइन : माओवादी नेता महरा

सुन प्रकरणमा मेरो संलग्नता छैन, नाम र फोन नम्बर मेरो होइन : माओवादी नेता महरा



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विमानस्थलको भन्सारको गोदामबाट हराएको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् । आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ किलो सुन हराएपछि उक्त प्रकरणमा चिनियाँ व्यापारीसँग माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको समेत कनेक्सन देखिएको भन्दै विपक्षी दल एमाले र राप्रपाले संसदमा समेत छानबिनको माग गरेको थियो ।

भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग महरा बाबुछोराले पटक पटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर अहिलेसम्म प्रहरीले महरा बाबु छोरालाई पक्राउ गरेर अनुसन्धान गरेको छैन । उक्त प्रतिवेदनको आधारमा समाचार प्रकाशित भए पनि महराले उक्त प्रकरणमा रहेको नाम र उल्लेख गरिएको फोन नम्बर आफ्नो नभएको दाबी गरेका हुन् ।

महराले लेखेका छन्, ‘केहि दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’

यस अगाडि उनले तथ्यहीन मात्र नभएर राजनैतिक पूर्वाग्रहीमा आधारमा समाचार प्रकाशन भएको उल्लेख गरेका थिए । महराले भनेका थिए, ‘जहाँसम्म छोरा राहुलले भन्सार कर्मचारीलाई सम्पर्क गरेको भनिएको छ; उनी चिनियाँ नागरिक वाङले चिनियाँ कामदारको लागि मगाएको केही सामान भन्सारमा अड्किएको र बुझिदिन आग्रह गर्दा भन्सार कर्मचारीलाई सम्पर्क गर्दा नियम अनुसार हुने जानकारी पाएको र उनलाई त्यही जानकारी गराएको हो । तर अरू कुनै विषय जानकारीमा नभएको तथ्य हो । साथै ती व्यक्तिसँग कुनै कार्यमा कुनै सहभागिता र सहयोग नगरेको पनि प्रस्ट पार्न चाहन्छौँ ।’

भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ । एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा हालसम्म जवाफसमेत दिएका छैनन् । विपक्षीको अडानपश्चात सत्ता पक्षले सभामुखलाई संसद बैठक सार्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL