Logo

५० करोड खर्चेर चिटिक्क पारिदै सिंहदरबार, कहिले सकिन्छ पुनर्निमाणको काम ?

५० करोड खर्चेर चिटिक्क पारिदै सिंहदरबार, कहिले सकिन्छ पुनर्निमाणको काम ?



काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलिकरणको कामको स्थलगत निरीक्षण गर्दै उनले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएकी हुन् ।

मन्त्री गुरुङ प्रवलिकरण मार्फत ऐतिहासिक सिंहदरवारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताइन । उनले भनिन,‘प्रवलिकरण निकै जटिल र संवेदनशिल काम हो, पुरानो संरचनालाई जस्ताकोतस्तै पुर्ननिर्माण गर्नु चुनौती थियो, विभिन्न चुनौतीलाई समाना गरेर भएपनि सिंहदरवार अब पुरानै अवस्थामा ढडिएको छ ।’ उनले बाँकी कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताइन ।

उनले भुकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रवलीकरण विधि मार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताइन । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउदा आम नागकिरहरुलाई पनि प्रवलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गरिन ।

निर्माण सुरु भएको सिंहदरवारको पश्चिम खण्डको काम हालसम्म ९२ प्रतिशत सम्पन्न भएको छ । करिब ५० करोड लगानीमा पश्चिम खण्डको प्रवलिकरणको काम भइरहेको छ । प्रवलिकरणको जटिल मानिएको काम सम्पन्न भएर हाल रंगरोगन र फिनिसिङको काम धमाधम भइरहेको छ ।

२०७२ सालमा गएको विनाशकारी भुकुम्पबाट क्षति पुगेको देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रवलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट पुनर्निमाणको काम अघि बढाइएको थियो । सिंहदरवारलाई भत्काएर नयाँ बनाउने कि प्रवलीकरण गर्ने भन्ने लामो बहसपछि अन्ततः तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरुको प्रवलिकरण मार्फत पुरानै शैलीमा निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय महत्वको रुपमा रहेका ऐतिहासिक भवनहरुको मौलिकता बचाउदै पुरानै निर्माण सामाग्री प्रयोग गरेर प्रवलिकरण मार्फत पुरानै स्वरुपमा निर्माण गर्ने काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए । उनका अनुसार वैज्ञानिक विधिको प्रयोग गरि जीर्ण घर तथा भवनलाई सुरक्षित बनाउने विधिलाई ’रेट्रोफिटिङ’ अथवा ’प्रबलीकरण’ भनिन्छ । भुकम्पले क्षति पु¥याएका ऐतिहासिक भवनहरुलाई सरकारले थप मजुबद्ध बनाउने गरी आधुनिक र उच्च तहको प्रविधिको प्रयोग गरी प्रवलीकरण गरेको हो ।

प्रवलीकरण मार्फत सिंहदरवार ऐतिहासिक भवनभित्र रहेका वास्तुकला, सौन्दर्य र मौलिकता पुरानै अवस्थामा निर्माण गरिएको छ । नेपालमा राणाकालीन भवनहरको विशिष्ट वास्तुशैली र पुरातात्कि महत्वका सम्पदालाई संरक्षण गर्ने कार्य अनुरुप सरकारले सिंहदरवारको प्रवलिकरण गरेको हो ।

निर्माण सम्पन्न उत्तर दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ को प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको छ । पश्चिमी खण्डको भने भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै शैलीमा चुना र सुर्कीको प्रयोग गरेर गरिएको छ । भवनमा काठ फलामको पाता, सुर्की चुना लगायतका निर्माण सामाग्रीको प्रयोग गरेर प्रवलीकरण गरिएको केन्द्रीय आयोजना कार्यान्वइन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्मा बताउछन ।

उनका अनुसार भवनलाई भुकम्प प्रतिरोधी बनाउनका लागि भुइँतलाबाटै फलामको पाता प्रयोग गरेर चारैतिरबाट मजबुद्ध रुपमा कसेर निर्माण गरिएको छ । उनका अनुसार नेपालको सन्दर्भमा प्रवलिकरण निकै कठिन काम भएपनि पर्याप्त अध्ययन अनुसन्धान मार्फत झण्डै अस्तित्व नै लोप हुन लागेका ऐतिहासिक भवनलाई पुरानै स्वरुपमा उठाउन सफल भएका छौं । बहुमूल्य वस्तु, आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै भवनको प्रवलिकरण गरिएको विश्वकर्माले बताए ।

शर्मा न्यू टेक्निकलले अहिले पश्चिमी खण्डको प्रवलिकरणको काम गरिरहेको छ । २०७६ असोज २७ बाट प्रवलिकरणको काम सुरु भएको थियो । वि.सं. १९६० सालमा तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले युरोपियन शैलीमा सिंहदरवारको निर्माण गरेका थिए । वि.सं. २०३० सालमा आगलागी हुँदा दरवारको पश्चिमी मोहडाबाहेक उत्तर पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । आगलागीबाट नष्ट भएका तीनवटा खण्डको वि. सं. २०३७ सालमा पुरानै शैलीमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गरी संरचनालाई भुकम्पीय जोखिम धान्न सक्ने गरी पुननिर्माण गरिएको छ । हाल सरकारले पश्चिम खण्डलाई पनि पुरानै शैलीमा पुननिर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्