Logo

पोखरामा काठमाडौं उडनै लागेको यती एयरको जहाजमा मुसा देखियो, उडान रद्द

पोखरामा काठमाडौं उडनै लागेको यती एयरको जहाजमा मुसा देखियो, उडान रद्द



पोखरा । पोखराबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजको पांग्रामा मुसा देखिएपछि उडान रद्द भएको छ । सोमबार मध्याह्न ११ः५० बजे उड्न तयार रहेको जहाजको पांग्रा आसपास मुसा देखिएपछि उडान नम्बर ६७८ रद्द भएको हो । यात्रु र विमानका कर्मचारीले मुसा देखेपछि विमानस्थललाई जानकारी गराइएको थियो ।

उक्त विमानलाई पोखरामै राखिएको र प्राविधिकले उडानयोग्य भएको रिपोर्ट दिएपछि मात्र उड्न अनुमति दिइने विमानस्थलकी निमित्त प्रमुख जशोदा सुवेदीले जानकारी दिइन् । उनकाअनुसार विमानका ६० जना यात्रुलाई यती एयरलाइन्सले अर्को विमानमा काठमाडौं पठाएको छ ।

मुसा भेटिएकै विमानमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि काठमाडौं जाँदै थिए । तर, उक्त विमान पोखरामै रोकिएपछि उनीसहित केही यात्रुलाई बुद्ध एयरमा काठमाडौं पठाइएको थियो । बाँकी यात्रुलाई यतीले अर्को विमानमा काठमाडौं पठायो । विमानमा मुसा कहाँबाट आएको हो र कहाँ गयो भन्ने एकीन छैन । धावनमार्ग नजिकैको घाँसबाट आएको र पांग्रा वा गेयरमा पसेको अनुमान गरिएको छ । ‘चढ्न लाग्दा पांग्रातिर देखिएछ । त्यसपछि कहाँ गयो देखिएन’, निमित्त प्रमुख सुवेदीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL