Logo

अव सवै अञ्चल यातायात कार्यालयबाट स्मार्टकार्ड वितरण, प्रिन्टको काम केन्द्रबाट मात्रै

अव सवै अञ्चल यातायात कार्यालयबाट स्मार्टकार्ड वितरण, प्रिन्टको काम केन्द्रबाट मात्रै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष भित्रै सवै अञ्चल यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्मार्ट कार्ड वितरण गर्ने भएको छ । हाल वागमती अञ्चल यातायात कार्यालयबाट मात्रै स्मार्टकार्ड वितरण गर्दै आएकोमा चालू आवभित्रै सवै यातायात कार्यालयबाट वितरणको तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

महानिर्देशक श्रेष्ठका अनुसार स्मार्टकार्ड वितरणका लागि सवै अञ्चल यातायात कार्यालयमा आवश्यक उपकरण जडान गरिसकेको छ । ‘हाल सवै अञ्चल यातायात कार्यालयमा हार्डवेयर र सफ्टवेयर जडान भैसकेको छ,’ उनले भने, ‘अव त्यसलाई संचालनमा ल्याउन मात्र बाँकी हो ।’ त्यसका लागि आवश्यक जनशक्ति समेत तयार गरिएको उनको भनाइ छ ।

विभागले सवै अञ्चाल यातायात कार्यालयबाट लाइसेन्सको स्मार्टकार्ड वितरण गरेपनि प्रिन्टको काम भने केन्द्रबाट मात्रै गर्ने भएको छ । सुरक्षा तथा प्रिन्टको लागि मेसिन कम भएकाले केन्द्रबाट मात्रै प्रिन्ट गर्न लागिएको हो । विभागसँग लाइसेन्सको स्मार्टकार्ड प्रिन्ट गर्न ३ वटा मेसिन मात्र रहेको छ । हाल सरकारले सुरक्षाको कारण देखाउँदै राहदानी पनि केन्द्रबाट मात्रै प्रिन्ट गर्दै आएको छ ।

सवै अञ्चल यातायात कार्यालयबाट स्मार्ट कार्ड वितरण गरेसँगै नक्कली लाइसेन्सको विक्रीवितरण रोकिने विभागको भनाइ छ । ‘हाल दलालले ठगी गर्दै नक्कली लाइसेन्स वितरण गर्दै आएका छन्,’ उनले भने, ‘सवै स्थानमा स्मार्टकार्ड लागू भएपछि त्यस्ता कार्य स्वत रोकिने छ ।’ स्मार्टकार्डलाई मेसिनबाट रिड गर्न सकिने भएकाले पनि नक्कली बोक्ने कार्य रोकिने छ । यसैगरी सरकारलाई आउने राजस्व समेत बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL