Logo

घट्यो डिजेल, पेट्रोल र ग्याँसको खपत, नेपालको ३१ अर्ब रुपैयाँ बचत

घट्यो डिजेल, पेट्रोल र ग्याँसको खपत, नेपालको ३१ अर्ब रुपैयाँ बचत



काठमाडौं । नेपालमा इन्धनको खपतमा कमी आएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २०७९÷८० मा नेपालमा हवाई इन्धनबाहेकको पेट्रोलियम पदार्थको खपत घटेको हो । नेपाल आयल निगमले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक बर्ष अघिल्लो आवको तुलनामा डिजेलको खपत मात्रै १९.७६ प्रतिशतले घटेको छ । यस्तै यसै अवधिमा पेट्रोलको खपत ८.२६ प्रतिशतले घट्दा खाना पकाउने ग्याँसको खपत करिव ४ (३.९८ं) प्रतिशतले घटेको छ ।

यस अवधिमा हवाई इन्धनको खपत भने १०.४० प्रतिशतले उकालो लागेको निगमले जानकारी दिएको छ । नेपालमा खासगरी सबैजसो पेट्रोलियम पदार्थ भारतबाट आयात हुने गरेको छ । जसअनुसार नेपालमा गत आर्थिक बर्षभर ६ लाख ७५ हजार किलोलिटर पेट्रोल र १३ लाख ८३ हजार किलोलिटर डिजेल खपत भएको थियो । यो अघिल्लो आर्थिक बर्ष २०७८÷७९ को तुलनामा क्रमशः ८ र १९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्ष यी दुवै वस्तु नेपालमा क्रमशः ७ लाख ३६ हजार र १७ लाख २३ हजार किलोलिटर खपत भएका थिए ।

यस्तै गत बर्ष नेपालमा खाना पकाउने ग्याँस पनि ५ लाख १४ हजार मेट्रिक टन मात्रै खपत भएको छ । यो पनि अघिल्लो आवको तुलनामा करिव ४ प्रतिशतले कम हो । अघिल्लो आवमा खाना पकाउने ग्याँस नेपालमा ५ लाख ३६ हजार मेट्रिकटन खपत भएको थियो ।

समग्र पेट्रोलियम आयात ३१ अर्बले घट्यो

नेपाल आयल निगमको तथ्यांकमा मात्रै होइन गत आर्थिक बर्ष भन्सार विभागको तथ्यांकमा समेत नेपालमा पेट्रोलियम पदार्थको खपतमा गिरावट आएको देखिएको छ । भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षभर नेपालमा ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ३१ अर्ब २१ करोड १५ लाख रुपैयाँले कम हो । अर्थात अघिल्लो आर्थिक बर्षभरी नेपालमा सबैजसो पेट्रोलियम पदार्थ ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

यस अवधिमा नेपालमा आयातको तथ्यांकलाई केलाउँदा डिजेलको आयात मात्रै गत आर्थिक बर्षको तुलनामा १४ अर्ब ४८ करोड रुपैयाँले घटेको छ । अर्थात अघिल्लो आर्थिक बर्ष नेपालमा १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बराबरको १७ लाख ५४ हजार किलोलिटर डिजेल आयात भएकोमा यो बर्ष घटेर १ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँ बराबरको १४ लाख ८ हजार किलोलिटर मात्रै आयात भएको छ ।

यस्तै पेट्रोल आयातकै कुरा गर्दा पनि गत आर्थिक बर्षभरी ६६ अर्ब ८४ करोड रुपैयाँ बराबरको ६ लाख ८० हजार किलोलिटर आयात भएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ४ अर्ब ५४ करोड रुपैयाँ र परिमाणमा ५७ हजार किलोलिटरले कम हो । अघिल्लो आर्थिक बर्ष नेपालमा ७१ अर्ब ३८ करोड रुपैयाँ बराबरको ७ लाख ३८ हजार किलोलिटर पेट्रोल आयात भएको थियो । यता खान पकाउने ग्याँस आयातको अवस्था पनि त्यस्तै छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षभर नेपालमा ७ अर्ब ३९ करोड रुपैयाँ र २ करोड १५ लाख किलो कम ग्याँस आयात भएको छ ।

किन घट्यो पेट्रोलियम खपत ?

नेपालले पछिल्ला बर्षहरुमा व्यापारघाटामा उच्च प्रभाव पार्ने मुख्य वस्तुहरुको प्रयोगलाई निरुत्साहन गर्ने नीति लिएको छ । जसमा पेट्रोलियम पदार्थ पहिलो स्थानमा आउँछ । विश्वबजारबाट नेपालमा भित्रिने सबैभन्दा बढी रकमको वस्तु नै पेट्रोलियम पदार्थ हो । गत आर्थिक बर्षभर मात्रै नेपालले यसमार्फत ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । अझ भनौ नेपालमा पेट्रोलियम पदार्थ मात्रै नेपालको कुल निर्यात व्यापारको तुलनामा दोब्बर बढी भित्रिन्छ ।

यहि समस्यालाई मध्येनजर गर्दै र विश्व बजारमा चलेको ट्रेन्ड पछ्याउँदै नेपालले पनि पछिल्ला केही बर्षदेखि विद्युतीय उपकरणहरुको प्रयोगलाई बढावा दिएको छ । पेट्रोलबाट संचालन हुने सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन, ग्याँसबाट चल्ने चुल्हो र हिटरको सट्टा विद्युतीय चुल्हो र हिटर, एसीलगायतका कारण नेपालमा पेट्रोल र ग्याँसको खपत केहि घटेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर बताउँछन् । उनका अनुसार उपभोक्ताहरुले विद्युतीय सवारीसाधनमा आकर्षण देखाउँदा र विद्युतीय उपकरणको प्रयोगमा जोड दिँदा यसको इन्धनको खपतमा कमी आएको हुनसक्छ । ‘अघिल्लो बर्षको तुलनामा इन्धनको खपत घटेको भएपनि मुख्य रुपमा के कारणले घटेको हो त्यसको अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘विद्युतीय उपकणको प्रयोग पनि एक कारण हुनसक्छ ।’ उनले पछिल्ला ३ देखि ४ बर्षको खपत ट्रेन्डलाई अनुसन्धान गरेर मात्रै यसैका कारण यसको खपत घटेको भनेर भन्न सकिने बताए ।

यस्तै यो बर्ष डिजेलको खपत घट्नुमा भने मूल्य नै प्रमुख कारण रहेको उनको भनाई छ । भारतीय बजारको तुलनामा नेपाली बजारमा डिजेलको मूल्य कम हुँदा नेपालमा खपत बढने र नेपाली बजारको तुलनामा भारतीय बजारमा मूल्य कम हुँदा खपत घटने गरेको उनले बताए । गत आर्थिक बर्ष निगम घाटामा रहेको र भारतीय आयल कर्पाेरेशनलाई ऋण तिर्नुपर्ने भन्दै उपभोक्ताबाट खरिद मूल्यभन्दा बढी नाफा खाएर पेट्रोलियम पदार्थ बेचेको थियो । जसका कारण भारतीय बजारको तुलनामा नेपालमा यसको मूल्य पन बढी भयो । यसो हुँदा नेपालमा भारतबाट आउने धेरैजसो ढुवानीका सवारीसाधनले भारतबाटै डिजेल भरेर आउँदा नेपालमा यसको खपत कम भएको उनको भनाई छ ।

‘अघिल्ला बर्षहरुमा भारतीय सीमानाकामा नेपालको तुलनामा डिजेलको मूल्य बढी हुन्थ्यो र ढुवानीका सवारीसाधनले नेपालमै आएर तेल भर्थे,’ उनले भने, ‘गत आवमा त्यो उल्टो भयो र सबैजसो सवारीसाधनले भारतमै तेल भरेर नेपाल आए र गए जसका कारण डिजेलको खपत कम भएको हो ।’ कोरोनाकाल अर्थात आर्थिक बर्ष २०७७÷७८ मा उच्च रुपमा घटेको पेट्रोलियम पदार्थको आयात अघिल्लो आर्थिक बर्ष पुनः एकाएक उकालो लागेको थियो । तर, पुनः गत आवमा यो ओरालो लागेपछि धेरैले यसलाई विद्युतीय सवारीसाधनको बढेको प्रयोगलाई प्रमुख कारण मानेका छन् ।

भन्सार विभागका अनुसार पनि गत आर्थिक बर्ष अघिल्लो आवको तुलनामा २ हजार २ सय ४३ विद्युतीय कार बढी आयात भएका छन् । अघिल्लो आर्थिक बर्ष जम्मा १ हजार ८ सय ७ विद्युतीय कार आयात भएकोमा गत आर्थिक बर्ष बढेर ४ हजार ५० पुगेका हुन् । रकमकै कुरा गर्दा पनि गत आर्थिक बर्षमा ३ सय किलोवाट क्षमतासम्मका कार आयात हुँदा नेपालले ११ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ । यो अघिल्लो आवको तुलनामा ६ अर्ब ५२ करोड रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL