Logo

२४ सय जनाले बुझाएनन् चुनाव खर्चको विवरण, गगन थापादेखि सोविता गौतमसम्म परे १५ हजार जरिवानामा

२४ सय जनाले बुझाएनन् चुनाव खर्चको विवरण, गगन थापादेखि सोविता गौतमसम्म परे १५ हजार जरिवानामा



काठमाडौं । गएको प्रदेश र संघीय चुनावमा २ हजार ४ सय बढी उम्मेदवारले चुनावी खर्च विवरण नबुझाएको पाईएको छ । निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै १ हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र १ हजार ३ सय ९८ जना प्रदेशसभा सदस्यका गरी २ हजार ४ सय ३५ जना उम्मेदवारहरुले हालसम्म चुनावी खर्च विवरण नबुझाएको बताएको हो । आयोगका अनुसार हालसम्म चुनावी खर्च विवरण नबुझाउने उक्त उम्मेदवारहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, थापासँगै चुनावी प्रतिस्पर्धा गरेका एमाले नेता राजन भट्टराई, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, लोसपाकै नेता तथा वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरद सिंह भण्डारी, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं हालका खानेपानी महिन्द्र राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम, रास्वपाकै गणेश पराजुली लगायत छन् ।

यस्तै, परराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउद, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, कांग्रेसकै उमकान्त चौधरी, स्वतन्त्र उम्मेदवार मिलन पाण्डे, अर्का स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायत कारबाहीमा परेका छन् ।

समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण पूर्व सभामुख ओनसरी घर्ती मगर पनि १५ हजार जरिवानामा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL