Logo

सेयर बजार सुधारमा सेबीको प्राविधिक हस्तक्षेप, धितोपत्र बोर्डका लागि बन्न सक्छ पाठ

सेयर बजार सुधारमा सेबीको प्राविधिक हस्तक्षेप, धितोपत्र बोर्डका लागि बन्न सक्छ पाठ

तत्काल कारोबार सेटलमेन्टदेखि आइपीओमा गोप्य अनुमतिसम्म



काठमाडौं । पछिल्लो समय भारतीय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । जसले भारतमा सेयर लगानीकर्ताहरु मालामाल बनिरहेका छन् । मंगलबार (साउन ९) मा भारतीय सेयर बजार सेन्सेक्स १४७ अंकले बढेर ६६५३१ मा खुल्यो । योसँगै निफ्टी पनि ५७ अंकले बढेर १९,७२९ को स्तरमा खुल्यो । तर, भारतीय सेयर बजारले यो उडान यत्तिकै लिएको भने होइन । पछिल्ला केही वर्षयता बजार नियामकका रुपमा रहेको सेक्युरिटी एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले थालेको सुधारको नतिजा हो । जसलाई अहिले पनि सेबीले तीब्रताका साथ अघि बढाइरहेको छ ।

सेबीकी अध्यक्ष माधवी पुरी बुचले बजार नियामकले स्टक एक्सचेन्जको कारोबारलाई तत्काल सेटलमेन्टमा मिलाउन र कारोबार सेटलमेन्टको टाइमलाइन सुधार गर्न काम गरिरहेको बताउँछिन । सेबी प्रमुखका अनुसार भारतमा राम्रो पुँजी निर्माणका लागि सेबीले नयाँ इक्विटी जारी गर्ने, कर्जा दिने, म्युचुअल फण्ड स्वीकृति जस्ता वित्तीय गतिविधिलाई गति दिन प्राविधिक हस्तक्षेप (इन्टरफेस) को लागि काम गरिरहेको छ। बुच भन्छिन–‘यस्ता हस्तक्षेपहरूले लगानीकर्ताहरूलाई वार्षिक आधारमा अहिलेसम्म ३५०० करोड रुपैयाँको फाइदा पुगेको छ ।’

यसबाहेक, सेबीले कम्पनीहरूलाई डिलिस्टिङ गर्न अनुमति दिन रिभर्स बुक–बिल्डिङ प्रक्रियाको सट्टा निश्चित मूल्य प्रयोग गर्ने तयारी गरिरहेको छ । यस विषयमा मङ्सिरसम्ममा छलफलपत्र जारी गरिनेछ । रिभर्स बुक–बिल्डिङ प्रक्रियामा, सेयरधनीहरूले स्टक एक्सचेन्जबाट कम्पनीलाई डि–लिस्ट गर्नका लागि प्रवद्र्धकहरूलाई आफ्नो सेयर बेच्न चाहेको मूल्य प्रस्ताव गर्छन् । यो अफर पनि ठूला सेयरधनीहरुको अगाडि राखिएको छ । यसपछि अफरका आधारमा कम्पनीको डि–लिस्टिङको मूल्य निर्धारण हुन्छ ।

तत्काल सेटलमेन्ट

यस्तै सेबीले अहिले तत्काल भुक्तानीमा काम गरिरहेको छ । युपीआई मार्फत सेयर कारोबार तत्काल राफसाफ हुनेछ र एक दिनमै कारोबार सेटलमेन्ट टुंगिनेछ । भारतमा अहिले लगानीकर्ताले सेयर बजारको कारोबारको टुंगो लगाउन अर्को ट्रेडिङ सत्र अर्थात् टी प्लसवान कुर्नुपर्छ तर छिट्टै सेयर बजारमा कारोबारको टुंगो लगाउने काम तुरुन्तै हुन थाल्ने र यसअन्तर्गत सेयर बिक्री हुने वित्तिकै उनीहरुको खातामा तत्काल पैसा आउनेछ । साथै, यदि तपाइँ शेयरहरू खरीद गर्नुहुन्छ भने, ती तपाइँको डिम्याट खातामा उही दिन क्रेडिट हुनेछ । बजार नियामक निकाय सेबी (सेबी) अध्यक्ष माधवी पुरी बुचले शेयर बजारमा तत्कालै कारोबार गर्ने व्यवस्था कार्यान्वयन गर्ने प्रक्रियामा नियामकले काम गरिरहेको बताउँछिन् ।

सेबीले शेयर बजारमा द्रुत लेनदेन सेटलमेन्ट अर्थात् टीप्लस जिरो प्रणाली सिर्जना गर्न सबै सरोकारवालाहरूसँग मिलेर काम गरिरहेको छ । यसले ट्रेड सेटल गर्न लाग्ने समयलाई कम गर्नेछ । भारत टी प्लसवान सम्झौता अपनाउने विश्वको पहिलो देश हो । यसको मतलब कुनै लगानीकर्ताले सेयर खरिद गरेमा त्यसको भोलिपल्ट नै उसको डिम्याट खातामा सेयर ट्रान्सफर हुन्छ वा लगानीकर्ताले सेयर बेचेमा त्यसको भोलिपल्ट नै उसको बैंक खातामा रकम जम्मा हुन्छ ।

आइपीओ भर्न गोप्य अनुमति

यस्तै सेबीले अब गोप्य रूपमा आइपीओ भर्न अनुमति दिने बताएको छ । सेबी प्रमुखले भनेकी छन् ‘आइपीओ फाइल गर्नेले सबैभन्दा पहिले गोप्य रुपमा आइपीओ फाइल गर्नेछन् । पूर्ण पुष्टि पछिमात्र अन्तिम फाइलिङ गरिनेछ । त्यसपछि मात्रै आइपीओको विवरण जारी हुनेछ ।’ यसले आइपीओ जारी गर्न उपयुक्त कम्पनीहरुले मात्र आइपीओ जारी गर्न पाउनेछन् र आइपीओको नाममा पहिले नै हुने चलखेलहरु रोकिनेछन् । लगानीकर्ताहरुको लगानी सुरक्षित हुने सुनिश्चिततामा सेबीले चालेको यो एउटा कदम हो ।

धितोपत्र बोर्डका लागि बन्न सक्छ पाठ

भारतीय बजार नियामक सेबीका सुधार कदमहरु नेपाली सेयर बजारका लागि पनि गतिलो पाठ बन्न सक्छन् । पछिल्लो वर्षदेखि लगातार सुस्ताएको सेयर बजारमा उत्साह भर्न पनि नेपालको धितोपत्र नियामकको रुपमा रहेको धितोपत्र बोर्ड (सेबोन) ले तत्काल केही प्रभावकारी कदमहरु चाल्नुपर्ने देखिन्छ । यसका लागि बोर्डले तत्काल सेटलमेन्टलगायतका विषयमा काम गर्न सक्छ । यस्तै वित्तीय गतिविधिलाई गति दिन प्राविधिक हस्तक्षेप (इन्टरफेस)का लागि पनि काम गर्नु उपयुक्त हुन्छ । अहिले नेपाली सेयर बजारमा लगानीकर्ता आकर्षणका लागि बोर्डले सेबीका सुधारका कदमहरुलाई पछ्याउन सके नेपाली सेयर बजारले पनि उचाई लिने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL