Logo

बालेनलाई संघीय सरकारको असहयोग : दूतावासले मिचेका फुटपाथ अझै खाली भएनन्, पैदलयात्रुलाई सास्ती

बालेनलाई संघीय सरकारको असहयोग : दूतावासले मिचेका फुटपाथ अझै खाली भएनन्, पैदलयात्रुलाई सास्ती



काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा पैदल यात्रुले राहत महसुस गर्नेगरि परिवर्तन भएको देखिन्छ । फुटपाथमा व्यापारदेखि विभिन्न अवरोधसम्मले पैदलयात्रुले बाटो छिचोल्नै मुश्किल हुने धेरैजसो सडकका फुटपाथ अहिले प्रदलयात्रुका लागि निर्वाध रुपमा हिडन मिल्ने भएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी घोषणा गर्दा नै वर्तमान मेयर बालेन्द्र शाह (बालेन)को प्रमुख एजेण्डामा फुटपाथ खाली गराउने कुरा उल्लेख थियो । सोहीअनुसार उनले फुटपाथमा सञ्चालित सटर खाली गराई भत्काउनेदेखि प्रहरी बिटसम्मै सार्नेसम्मका कामहरु गरिसकेका छन् ।

यसबीचमा महानगरपािलका र मेयर शाहले कहिले फुटपाथमा पसल थापेकालाई हटाएको भन्दै आलोचना खेपे भने कहिले ठूला व्यवसायिक घरानाले फुटपाथ मिचेको जग्गा खाली गराउँदा अदालत धाउनुपर्ने अवस्थासम्म सिर्जना भयो । तर, महानगरको पछिल्लो प्रयासले काठमाडौंमा साविकको तुलनामा धेरैजसो फुटपाथ हाल खाली अर्थात मान्छे हिँड्न लायक बनेका छन् । तर, संघीय सरकारले महानगरपालिकालाई असहयोग गरिदिँदा भने बालेनको फुटपाथ खाली गराउने प्रतिवद्धतामा ब्रेक लागेको छ । अर्थात विदेशी नियोगका कार्यालयहरुले बषौंदेखि मिचेर राखेको फुटपाथ खाली गराउने महानगरपालिको प्रयासले मुर्तरुप लिन सकेको छैन् । महानगरले दूतावासहरुलाई आग्रह गर्दा पनि सुनुवाई नभएपछि परराष्ट्र मन्त्रालयलाई नै पत्राचार गरिसकेको छ । तर, महानगरपालिकाले मन्त्रालयलाई पत्राचार गरेको लामो समय वितिसक्दा पनि मन्त्रालयले यसमा ध्यान नदिएको महानगरपालिकाको गुनासो छ ।

पटकपटक पत्राचार गर्दा पनि मन्त्रालयले ध्यान नदिएपछि सर्वसाधारण पैदलयात्रुले विदेशी नियोग अगाडि हिँड्दा दुःख पाउने अवस्था रहिरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर बताउँछन् । उनका अनुसार अमेरिकी राजदूतावाससँगै अमेरिकी राजदूतको आवास, रिक्रियसन सेन्टर, चिनियाँ दूतावास, जर्मन दूतावास, बेलारुसको दूतावास, जापानी दूतावासलगायतका दूतावासले सडकको राइट अफ वे नै नछोडी फुटपाथ मिचेका छन् । ‘राजदूतावासहरुमा सिधै महानगरपालिकाले समन्वय गर्न नसकिने व्यवस्थाका कारण नै यसबारे सरकारलाई गुहारिएको थियो,’ उनले भने, ‘तर, सरकारले असहयोग गरिरहेको छ ।’

संघीय सरकारले दूतावासले मिचेका फुटपाथमाथि वास्ता नगर्दा बर्षाैंदेखि पैदलयात्रुहरु सडकमा ओर्लेर हिँड्नुपर्ने बाध्यता छ । यस्तो हुँदा दूर्घटना निम्तिने डरसँगै पैदलयात्रुहरु फुटपाथमा हिँड्न पाउने अधिकारबाट पनि बन्चित हुँदै आएका छन् । धेरैजसो दूतावासका कार्यालय अगाडिका फुटपाथको अवस्थाले काठमाडौ महानगर तथा सरकारलाई नै गिज्याइरहेको छ । केहि दूतावास कार्यालयका पर्खाल सडकसम्म पुगेका छन्, कुनै दूतावासका भवनले फुटपाथ मिचेका छन् । कतिपय फुटपाथ नमिचेका दूतावासले फुटपाथमै सुरक्षा निकायको पोष्ट खडा गरेका छन् । जसका कारण बर्षौंदेखि पैदलयात्रुले सास्ती खेप्दै आउनुपरेको छ । दूतावासहरुले सडकको राइट अफ वै नै मिचेका कारण केहि स्थानका सडकहरु नै साँघुरा बनेका छन् । सडक विभागलगायतका निकायहरुले समेत यसमा ध्यान दिनुपर्ने भएपनि यसमा काठमाडौं महानगरपालिका एक्लैले पहल गरिरहेको देखिन्छ ।

यता परराष्ट्र मन्त्रालय भने काठमाडौं महानगरपालिकाले गरेको पत्राचारमा बेखबरजस्तै छ । मन्त्रालयका एक अधिकारीले यस बिषयमा हालसम्म कुनै गहन तरिकाले छलफल र क्रियाकलाप अघि नबढेको जानकारी दिए । खासगरी काठमाडौं महानगरपालिकाले सामान्य प्रशासन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्नुपर्ने हो । केहि समय अघि काठमाडौं महानगरपालिकाले गरेको पत्राचार परराष्ट्र मन्त्रालयमा पुगेपनि त्यसमा विशेष काम भने हुन नसकेको मन्त्रालयकै एक अधिकारीले बिजखबरलाई जानकारी दिए । उनका अनुसार मन्त्रालयमा पनि गाईँगुँई संचारमाध्यममार्फत मात्रै यसको बारेमा कुरा उठेपछि केहि छलफल भएको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले सिंहदरबारले आफुलाई सहयोग नै नगरेको भन्दै सिंहदरबारको फोहर नै नउठाउने निर्णय गरेको थियो । जसका कारण करिव १५ दिनसम्म सिंहदरबारको फोहर सिंहदरबारमै थुप्रिएको थियो । त्यसैबेला महानगरपालिकाले विभिन्न दूतावासहरुले मिचेका पुटपाथहरुलाई खाली गराउन विदेशी निकायसँग कुटनीतिक पहल गरिदिन जोड दिएको थियो । त्यसबेला विभिन्न मन्त्रालयहरुले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर सहजीकरण गरिदिने आश्वासन दिएपनि सोअनुसार काम भने भएको छैन । यससम्बन्धनमा परराष्ट्र मन्त्रालयका एक अधिकारीले मन्त्रालयमातहत विभिन्न विभागहरु हुने र विदेशी दूतावासलाई पत्राचार गर्ने गर्ने काम मन्त्रालय मातहतको कुनै विभागले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL