Logo

पर्यटन बोर्डमा बेथिति : बोर्डको बजेट निजी लाभमा खर्चिदै सिइओ रेग्मी, पदको दुरुपयोग गर्दै कमाउधन्दा

पर्यटन बोर्डमा बेथिति : बोर्डको बजेट निजी लाभमा खर्चिदै सिइओ रेग्मी, पदको दुरुपयोग गर्दै कमाउधन्दा



काठमाडौं । नेपाल पर्यटन बोर्डमा पछिल्लो समय बेथिति बढ्दै जाँदा बोर्डका कामकारवाहीप्रति नै विभिन्न प्रश्न खडा हुन थालेका छन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रुपमा रहेका डा.धनञ्जय रेग्मीले बोर्डमा रहेर आफ्नो निजी स्वार्थका विभिन्न कमाउधन्दा चलाउँदा बोर्ड नै विवादमा पर्ने अवस्था आएको बोर्डका जिम्मेवार अधिकारीहरु बताउँछन् ।

विस २०७९/०८० को बजेट तथा कार्यक्रम शीर्षक ३.४.१.३ मा इन्टरनेसनल सस्टेनेवल माउन्टेन डेभलपमेन्ट कन्फेरेन्समा २० लाख रुपैंया बिनियोजित थियो । उक्त कार्यक्रमका बारे बजेटमा भएको प्रस्टीकरणमा पर्वतीय पर्यटनलाई प्राथमिकतामा राखी दिगो पर्वतीय विकास सम्बन्धि अन्तराष्ट्रिय विश्वविद्यालयहरु तथा अनुसन्धान संस्थासँगको सहकार्यमा सो कार्यक्रम आयोजनामा सहकार्य गर्ने लेखिएको थियो ।

कार्यक्रम २०७९ मंसिर १५ देखि १७ सम्म चन्द्रागिरी हिल्समा आयोजना भयो । जसको मुख्य आयोजक नै नेपाल पर्यटन बोर्ड थियो । कार्यकारी प्रमुख डा. रेग्मी बोर्डमा आबद्ध हुन अगाडि यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने गर्थे । चन्द्रागिरीको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेहरु लगायतका सबै ब्यक्तिहरु डा रेग्मीको संस्था हिमालयन रिसर्च सेन्टर र हिमालयन रिसर्च एक्सपिडिसन्सबाट विविध समयमा आयोजित कार्यक्रममा सहभागी भइसकेका, उनका ब्यवसायका साझेदार हैसियतका ब्यक्तिहरु हुन् । तीमध्ये एक जसले मुख्य कार्यपत्र प्रस्तुत गरेका एल्टन बायर्सलाई उनको कम्पनीको साइटमा अन्तराष्ट्रिय वैज्ञानिकका रुपमा टिममै राखिएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुबाट उठाइएको पैसा बोर्डको साइट प्रयोग गरेर अर्कै साइटमा पठाइएको र खर्च पनि नबाँधिएको स्थिति छ । आर्थिक वर्षको अन्तिमसम्म पनि ६ महिनाअघि सकिएको कार्यक्रमको बोर्डले गर्नुपर्ने भुक्तानी नगरी दायित्व सिर्जना भएको छ । कार्यकारी प्रमुख डा रेग्मीका यस्ता धन्दा अनेक चलिरहेका छन् । उनको कम्पनी हिमालयन रिसर्च सेन्टरको वेभसाइट himalayanresearch.org.np मा रेग्मीको कार्यकारी प्रमुखका रुपमा ४ वर्षे कार्यकाल पुरा गर्नलाग्दासम्म पनि सम्पर्क मोबाइलमा उनकै नम्बर उल्लेखित छ ।

पर्यटन बोर्डको नियमावलीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त हुने व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनुपर्ने, नलिएमा नियुक्ति स्वत बदर हुने व्यवस्था भएपनि रेग्मीले नीजि कम्पनीको कार्यकारी भूमिकामा काम गरेको पाएर बिगतमा पनि पर्यटन मन्त्रालयले छानबिन गरेको थियो ।

यस्तै नयाँ बजेटमा पनि डा. रेग्मीको चलखेल देखिन्छ । नयाँ बजेट बोर्डको कार्यकारी समितिले स्वीकृत गर्न बाँकी छ । हाल बजेटका लागि तयारी र छलफल भइरहेको अवस्थामा उनकै कार्यक्रमलाई बोर्डले साइटमा राखिसकेको छ । सम्बन्धित कर्मचारीहरु समेत आश्चर्यमा पर्नेगरी माथि उल्लेखित सम्मेलनको दोश्रो संस्करणका रुपमा पोखरामा २०२३ को अक्टोबर ६ देखि ८ सम्म हुने भनिएको उक्त सम्मेलनका बारेमा बोर्डको साइट ntb.gov.np/conference मा हेर्न सकिन्छ । आफुले वर्षौदेखि गरिआएको कार्यक्रमलाई बोर्डको ब्यानर अनि खर्चमा गराएर पैसा कम्पनीमा आउने बनाउने रेग्मीको धन्दादेखि बोर्डका कर्मचारी नै अचम्ममा परेका छन् । सोबारे रेग्मीसँग जानकारी लिन प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्