काठमाडौं । बुधबार बरामद गरिएको ब्रेकसु सहितको सुनको तौल १ सय ५५ किलो पुगेको छ । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन आजैमात्रैराष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा पुर्याएको थियो ।
महाशाखाले राजस्व अनुसन्धान विभागले विभिन्न ८ पोकामा ल्याएको सुनको तौल गर्दा कुल १ सय ५५ किलो ४ सय ६८ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।
उनका अनुसार महाशाखाले ८ ओटा पोकाहरु बेरिएको कपडा, लाहा छाप, कार्टुन, ब्रेक शु र सुनसहितको भएको बताएका छन् । तर, यो तौल शुद्ध सुनको भने होईन । ब्रेक शुबाट सुन निकालेर गालेर त्यसपछि शुद्ध सुन तौलेपछि मात्रै सुनको परिणाम थाहा हुने उनले बताए ।
हाल भने महाशाखाले विभागले ल्याएका पोकाहरु तौल गरेर सुरक्षितसाथ ढुकुटीमा राखिदिएको छ । अब विभागले पुनः पत्र पठाएर सुनको मात्रै तौल गर्न आग्रह गरेको अवस्थामा भने गालेरै सुनको तौल निकाल्ने आचार्यले बताए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्याइएको थियो।