Logo

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धि, अर्थमन्त्री डा.महत

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धि, अर्थमन्त्री डा.महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताए । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रहेको बताएका हुन् ।

उनले मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको बताउँदै नेपालको आर्थिक विकासका लागि उपलब्धी हुनेसमेत जानकारी दिएका छन् ।

पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाएको उनले बताए । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्नेमा उनले जोड दिए ।

‘जी–२० बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो,’ उनले भने, ‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भयो । यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो ।’

‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्याएको चुनौति देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको बताउँदै उनले डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरु ठाउँबाट पनि सञ्चालन हुने अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL