Logo

म्याग्दीमा बसपार्क सञ्चालन भएको १६ वर्षपछि अत्याधुनिक टर्मिनल भवन सञ्चालन

म्याग्दीमा बसपार्क सञ्चालन भएको १६ वर्षपछि अत्याधुनिक टर्मिनल भवन सञ्चालन



काठमाडौं । म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन् ।

बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको सो भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि उद्घाटन गरिएको हो । टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।

नवनिर्मित भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउण्टर सञ्चालन गरिएको छ । विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।

बसपार्कमा निर्माण गरिएको एकतले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतिक्षालय छन् । बसपार्कको भवन परिसरमा आरसिसी ढलान गरिएको छ । अपाङ्गतामैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसि टिभी क्यामेरा जडान गरिएको छ । उद्घाटन समारोहमा प्रमुख केसीले एकैठाउँबाट यात्रुहरुले टिकट काट्न पाउँदा सुविधा हुने बताए ।

उनले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्धार हुनाका साथै यो स्थल स्वच्छ र सफा भएकाले आउने पर्यटकलाई सकरात्मक सन्देश मिल्ने चर्चा गरे । नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्न फर्निचरको व्यवस्था गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडानं–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार बसपार्कलाई सफा र व्यवस्थित गराउन सात कर्मचारी नियुक्त गरिएको र व्यवसायीहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिने गरिएको छ । बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बाल मन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन खर्च गरिने जनाइएकोे छ ।

। विसं २०७४ मा नगरपालिकाले तयार पारेको बसपार्कको गुरुयोजनामा रु २१ करोड लागत अनुमान गरिएको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL