Logo

एनएलआईसीको कारोबार छिट्टै खुल्ने, मूल्य १ हजार माथि नहुने

एनएलआईसीको कारोबार छिट्टै खुल्ने, मूल्य १ हजार माथि नहुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । धितोपत्र बोर्डले विवरणपत्र छिटो बुझाएमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एनएलआईसीको कारोबारलाई फुकुवा गरिदिने भएको छ । तर मूल्य भने उसले तोकेजस्तो नहुने बोर्डले जानकारी दिएको छ । कम्पनीले चाहेको मूल्यलाई बोर्डले स्वीकृति नदिने र भनेजस्तो मूल्य नपाएमा कम्पनीले हाललाई एफपीओ नै जारी नगर्ने मनस्थिति बनाएको समाचार स्रोतले बताएका छन ।

समाचार सूत्रका अनुसार बोर्ड अध्यक्ष र कम्पनीका पदाधिकारीबीच सोमबार भेटघाट तथा छलफल भएको थियो । छलफलका क्रममा कम्पनीका पदाधिकारीहरुले बोर्डसमक्ष सेयर कारोबार छिटो फुकुवा गरिदिन आग्रह गरेका थिए ।

आफूखुसी एफपीओको प्रिमियम मूल्य निर्धारण गरी कम्पनीको सेयरको कारोबारलाई प्रभावित पार्न खोजेको भन्दै बोर्डले कारोबार रद्द गरिदिएको थियो । एनएलआईसीले प्रिमियम मूल्य २ हजार ८ सय ५१ कायम गरी सञ्चालक समितिबाट पारित गरी तत्काल नेप्सेको सूचनापाटीमा प्रकाशित गरेको थियो । कम्पनीले झण्डै ३० लाख कित्ता अर्थात १० प्रतिशत सेयरलाई एफपीओमार्फत विक्री गरी संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ७०ः३० कायम गर्न खोजेको थियो ।

बोर्डका अनुसार मूल्यलाई गणना गर्ने विभिन्न आधारहरु छन र ती आधारहरुको विश्लेषण गरी एफपीओको मूल्य निर्धारण गरिन्छ । मूल्यसमेत निर्धारण भैसकेको विवरणपत्रलाई बोर्डबाट स्वीकृति लिई एफपीओ जारी गर्नुपर्छ । तर कम्पनीले मूल्यलाई प्रभावित गर्न आफूखुसी निर्णय गरेको थियो ।

बोर्डका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सको हकमा जे आधारहरु राखेर एफपीओका मूल्य निर्धारण गरिएको हो, यस कम्पनीको हकमा पनि सो विधि र आधारहरु लागू हुनेछन । त्यसरी हेर्दा कम्पनीको एफपीओको मूल्य ९ सयदेखि ११ सयको बीचमा रहने अनुमान छ । कम्पनीले आफ्ना सीएमार्फत कायम गरेको २ हजार ८ सय ५१ रुपैयाँ लागू हुनसक्दैन । हाल कम्पनीको चुक्ता पुँजी करिव १ अर्ब ७३ करोड रहेको छ ।

एनएलआईसीमा भित्री सूचनाका आधारमा सर्वसाधारणलाई ठग्ने नियत राखेर एउटै व्यक्तिले बढी मूल्यमा सेयरको कारोबार गरेको तथ्य पत्ता लागेको स्रोतले जानकारी दिएको छ । अहिले बोर्डले यस कम्पनीको मात्र होइन, अन्य कम्पनीको सेयर कारोबारमा केही व्यक्तिले चलखेल गरेको सूचनाका आधारमा अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL