Logo

दोब्बरले बढ्यो गोलभेडाको मूल्य, भारतमा मूल्य बढ्दा नेपाली किसानलाई राहत

दोब्बरले बढ्यो गोलभेडाको मूल्य, भारतमा मूल्य बढ्दा नेपाली किसानलाई राहत



काठमाडौं । नेपाली बजारमा गोलभेडाको मूल्य दोब्बरले बढेको छ । बजारमा मूल्य बढेसँगै नेपाली किसानले गोलभेडाको उचित मूलय पाउन थालेका छन् । यसअघि बजारमा भारतीय गोलभेडाको बढी आपूर्ति हुँदा नेपाली किसानले आफुले उत्पादन गरेको गोलभेडाको उचित मूल्य पाउन सकेका थिएनन् । तर, पछिल्ला केहिदिनदेखि लगातार बढिरहेका गोलभेडाको मूल्यका कारण नेपाली कृषकहरुले राहतको श्वास फेरेका छन् ।

काठमाडौंको टोखामा ४ रोपनी क्षेत्रफलमा गोलभेडा खेती गरिरहेका आकाश तामाङ बल्ल राहतको श्वास फेर्न पाएको बताउँछन् । केहिदिन अघिसम्म प्रतिकिलो ५ रुपैयाँमा गोलभेडा बेच्नुपर्ने बाध्यतामा उनी थिए । प्राय स्थानीय बजारमै खपत हुने उनको गोलभेँडा स्थानीय व्यापारीहरुले नै किनिदिन्थे । उनले पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची हेरेर व्यापारीहरुलाई गोलभेडा दिने गर्छन् ।

जसका कारण उनले प्रतिकिलो ५ रुपैयाँसम्म पनि गोलभेडा विक्री गर्नुपरेको सुनाउँछन् । तर, अब भने उनले आफ्नो मूल्यमै गोलभेडा विक्री गर्न पाइरहेका छन् । हुन त अघिल्ला बर्ष प्रति क्यारेट २ हजार २ सय रुपैयाँसम्म गोलभेडा विक्री गरेका उनले यो बर्ष उक्त मूल्य पाएनन् । यो बर्ष उनले प्रतिक्यारेट अधिकतम ७ सय रुपैयाँसम्म मात्रै मूल्य पाएका छन् । तर, पछिल्लो समय लगातार उकालो लागिरहेका गोलभेडाको मूल्यका कारण भने अघिल्ला बर्षझैं मूल्य पाउनेमा उनी आशावादी छन् ।

पछिल्लो केहिदिनयता छिमेकी देश भारतमा गोलभेडाको मूल्य लगातार उकालो लागेर प्रतिकिलो २ सय ५० रुपैयाँसम्म पुगेको छ । यो बर्ष अघिल्लो बर्षका तुलनामा गर्मी अत्याधिक भएपछि गोलभेडामा लाग्ने किराका कारण भारतमा उत्पादन खस्कियो र गत मेदेखि लगातार गोलभेडाको मूल्य उकालो लागिरहेको छ । जसका कारण नेपाली बजारमा भारतीय गोलभेडा भित्रिन सकिरहेको छैन । यसैको फाईदा नेपाली कृषकहरुलाई भएको उनी बताउँछन् ।

यता पछिल्लो समय गोलभेडाको मूल्य बढेपछि नेपाली कृषकलाई राहत भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । अघिल्लो महिनामात्रै कृषकहरुले बजार र लागत मूल्य नै नपाएको भन्दै गोलभेडा सडकमा फालेरै विरोध गरेका थिए ।

अघिल्लो महिनाको तुलनामा यो महिना मूल्य केहि बढेपछि कृषकहरुलाई केहि राहत भएको उनका भनाई छ । तर, भारतीय बजारमा बढेको मूल्यको प्रभाव नेपाली बजारमा नपरेको समेत उनले बताए । ‘हाल भारतीय बजारमा गोलभेडाको मूल्य प्रतिकिलो भारु २ सय ५० सम्म पुगको छ,’ उनले भने, ‘यहि आधारमा नेपालमा पनि बढेको भए नेपालमा करिव ४ सय रुपैयाँ प्रतिकिलो पर्ने थियो ।’ उनले हाल नेपाली बजारमा विक्री भइरहेको गोलभेडा पुर्णतया नेपाली नै रहेकोसमेत जानकारी दिए । हाल भारतबाट गोलभेडा नेपाल नभित्रिएकोले पनि नेपाली गोलभेडा ले राम्रो पाएको उनले बताए ।

पछिल्लो १ महिनाको मूल्य सूची हेर्दा पनि नेपाली बजारमा गोलभेडाको मूल्य कृषकको लागत मूल्यसम्म पुगेको छ । गत असार १ गते बजारमा सानो गोलभेडाको मूल्य प्रतिकिलो १० रुपैयाँ, गोलभेडा सानो लोकलको प्रतिकिलो ५ रुपैयाँ र गोलभेडा ठुलो नेपालीको प्रतिकिलो ३५ रुपैयाँ थियो । हाल त्यो मूल्य क्रमशः २८०, २७९, १७१ प्रतिशतले बढेर प्रतिकिलो ३८, २२ र ९५ रुपैयाँ पुगेको छ । गत असार १ मा भारतीय गोलभेडाको मूल्य भने प्रतिकिलो ६६ रुपैयाँसम्ममा विक्री भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्