Logo

मनाङ एयर हेलिकप्टर दुर्घटना : चालक गुरुङ र मेक्सिकन यात्रुसहित ६ जनाकै मृत्यु

मनाङ एयर हेलिकप्टर दुर्घटना : चालक गुरुङ र मेक्सिकन यात्रुसहित ६ जनाकै मृत्यु



काठमाडौँ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको ज्यान गएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरे । अहिले सबै शव संकलन भइसकेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र आफू हेलिकप्टरमार्फत दुर्घटनास्थल जान खोजे पनि मौसमको खराबीका कारण अवतरण हुन नसकेको उनले जानकारी दिए । उनले भने, ‘दुर्घटनामा ६ जनाकै मृत्यु भएको छ । सीडीओ सर र म दुर्घटनास्थलमा जान खोजेका थियौँ । तर खराब मौसमका कारण हेलिकप्टर तल लिखुपिके गाउँपालिका वडा नम्बर ५ मै अवतरण गरिएको छ ।’

उनका अनुसार दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जिल्ला सदरमुकाम सल्लेरीबाट नेपाल प्रहरी र नेपाली सेनाबाट थप २१ जना गाडीबाट दुर्घटनास्थल पठाइएको बताए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका–५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।

हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो । दुर्घटनाको खबर पाउने बित्तिकै सोलु दूधकुण्ड नगरपालिका–२ बेनीस्थित प्रहरी चौकीबाट असई निराजन बस्नेत नेतृत्वको टोली दुर्घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL