Logo

राजकुमारको कृषि कथा : काम गर, सफलता मानिसको पछि-पछि आउँछ

राजकुमारको कृषि कथा : काम गर, सफलता मानिसको पछि-पछि आउँछ



काठमाडौं । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएका हुन् । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचे जस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउँछन् । ‘आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?’, उनले भने । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे र उनीँ मलेसिया हुइँकिए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन् । ‘मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु’, उनले भने । मलेसियामा सोचे जस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचे जस्तो तलब नपाएपछि दुई वर्षमै उनी फेरि स्वदेश नै फर्किए ।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए । दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष कतार बस्दा पनि सोेचे जस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कदा जम्मा पाँच लाख लिएर फर्किएको बताउँछन् ।

७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाखको लगानी रहेको बताउँछन् । दूध बोक्नलाई बोलेरो समेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिएको बताउँछन् । ‘मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु । ३५ लाखको वस्तु मात्रै छन्’, उनले भने । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन् । ‘सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो’, उनले भने । अहिले भने ढकालको परिवारमा खुशी छाएको छ । उनको हिम्मतले आज सफलता र खुशी बनाएको छ ।

विदेशमा १६ घण्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ । ‘महिनामा तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि’, उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन् ।

आफ्नै उत्पादन आफ्नै व्यापार

राजकुमारको काम दूध मात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् । उत्पादन गरेको दूध अन्त पुर्‍याउनु पर्ने झन्झट उनलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उनी पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन् ।

जीवनमा खुशी पाउनका लागि झण्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुशी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुशी छाएको हो । सुरुमा रु पाँच लाख लगानी गरेर कुखुरापालन समेत गरेका उनी हतार र हतास गर्न नहुने बताउँछन् । उनी सफलता मानिसको पछि– पछि आउने गरेको बताउँछन् । ‘हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ’, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्