Logo

हाम्रो अनुमति नलिई काठमाडौंको सार्वजनिक जग्गा लिजमा दिन पाईँदैन : मेयर शाह

हाम्रो अनुमति नलिई काठमाडौंको सार्वजनिक जग्गा लिजमा दिन पाईँदैन : मेयर शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाको अनुमति नै नलिई सरकारले सार्वजनिक जग्गा लिजमा दिईरहेको आरोप लगाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बिहीबार आफ्नो फेसबुक पेजमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा (१) ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई तोक पनि संघ सरकारको मन्त्रिपरिषदले काठमाडौं महानगरपालिकाभित्रको जग्गा अर्काको नाममा लिजमा दिईरहेको उनको भनाई छ ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा काठमाडौं महानगरपालिकासंग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने सम्बन्धी प्रचलित कानून प्रतिकूलको काम कारवाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षण सम्बन्धी काम कारवाहीलाई काठमाडौं महानगरपालिकाले उच्च प्राथमिकता दिएको छ ।’

यस्तै उनले प्रचलित कानून प्रतिकूल भएको लिज सम्बन्धी निर्णय वा त्यसका आधारमा गरिने लिज सम्झौताले कानूनी मान्यता नपाउनेसमेत बताएका छन् । काठमाडौं महानगरपालिकाबाट सिफारिस नलिई प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हुनेगरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी जग्गामा नक्सा पाससमेत नगरिने उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL