Logo

बजेट कार्यान्वयनमा पुरानै प्रवृत्ति हावी, आर्थिक वर्षको अन्त्यमा भुक्तानीको ओइरो

बजेट कार्यान्वयनमा पुरानै प्रवृत्ति हावी, आर्थिक वर्षको अन्त्यमा भुक्तानीको ओइरो



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्ने रकम ह्वात्तै बढाएको छ। सरकारले गर्ने यस्तो खर्च असारमा एक्कासी बढेको हो। यसले बजेट कार्यान्वयनमा पुरानै प्रवृत्ति हावी भएको जानकारहरु बताउँछन्। चालु आर्थिक वर्षको अन्तिम महिना असार १८ गतेसम्म आउँदा सरकारले १२ खर्ब ६३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ।

असारको १८ दिनको अवधिमा नै सरकारले गर्ने यस्तो भुक्तानी लगभग ७ प्रतिशतले बढाएको महालेखा नियन्त्रण कार्यलयले जानकारी दिएको छ। जेठको ३२ गतेसम्म सरकारले ११ खर्ब ७६ अर्ब ६ करोड ५७ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको थियो। यस अवधिसम्म सरकारले लक्ष्यको ६५.५६ प्रतिशतमात्र भुक्तानी गरेको थियोभने असार १८ गतेसम्म ७०.४२ प्रतिशत पुगेको छ।

असार १८ गते सम्म आउँदा सरकारले एक खर्ब ७० अर्ब ५० करोड रुपैयाँ बराबरको चालु खर्च गरेको छ। सरकारको यस्तो खर्च १८ दिनमा नै १० प्रतिशतले बढेको हो। जेठ ३२ गतेसम्म १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख रुपैयाँ चालु खर्च गरेको सरकारले असार १८ गतेसम्म लगभग १० प्रतिशतले बढाएको हो । जेठ ३२ गतेसम्म ४०.२४ प्रतिशत चालु खर्च गरेको सरकारले असार १८ गतेसम्म आउँदा यस्तो खर्च बढाएर ४४.८२ प्रतिशत पुर्याएको हो।

सरकारले असार १८ गतेसम्म वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५७ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ। सरकारले बजेटमा दिएको लक्ष्यको ६८.३९ प्रतिशत खर्च गरेको जानकारी दिएको छ । जेठ ३२ गतेसम्म सरकारले वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँमात्र खर्च गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको असार १८ गतेसम्म आउँदा ८ खर्ब ३६ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले बजेटमा लिएको लक्ष्यको ५९.६४ प्रतिशत राजस्व संकलन गरेको हो। यसैगरी, सरकारले अनुदानमार्फत ४ अर्ब ८० करोड २० लाख रुपैयाँमात्र उठाएको छ। सरकारले लक्ष्यको ८.६६ प्रतिशतमात्र अनुदान संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL