Logo

मुग्लिन-नारायणगढ सडक फेरि बन्द, पहिरोसँगै खसेको ढुंगाले लागेर ट्रक चालक घाइते

मुग्लिन-नारायणगढ सडक फेरि बन्द, पहिरोसँगै खसेको ढुंगाले लागेर ट्रक चालक घाइते



काठमाडौँ । पटक–पटक बन्द हुँदै आइतबार साँझबाट खुलेको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी ६ बजेदेखि दुईतर्फी खुलेको सडक राति २ बजेदेखि फेरि बन्द भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी ओहोरदोहोर भइरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक बन्द भएको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर एक ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

पहिरोसँगै सडक छेउमा कोल्टे परेर अडिएको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्छ । पहिरो पन्छाउने डोजर तैनाथ रहे पनि ट्रक हटाउने क्रेन पुग्न बाँकी रहेकाले सडक खुल्न समय लाग्ने प्रहरीको भनाइ छ । यसअघि हिजो पनि शनिवार रातिदेखि बन्द भएको सडक बेलुकी पख मात्रै खुलेको थियो ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउँदा पनि जोखिम कायमै रहने भएकाले मुग्लिन–नारायणगढ सडक खण्डमा सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक– पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL