काठमाडौं । अव नागरिक लगानी कोषको रकम नेपाल बैंक लिमिटेडको खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्न मिल्ने भएको छ । बुधवार कोष र बैंकवीच सो सम्वन्धि सम्झौता भएको हो ।
बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच आज उक्त सम्झौता भएको बताइएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरे । कोषका कार्यकारी निर्देशक पोखरेलका अनुसार २०७३ साउनदेखि कोषको रकम केन्द्रीय खातामा जम्मा हुनेछ ।
सम्झौताअनुरुपको कार्य सुरु भएपछि नेपालभर बैंकका शाखामा कोषको नाममा रहेका सबै खाता बन्द गरी पाँच वटा खातामात्र सञ्चालनमा रहनेछन् । यसभन्दा अगाडि कोषको खाता बैंकको २ सय भन्दा बढी खातामा जम्मा हुँदै आएको थियो ।