Logo

धेरै निर्यात हुने वस्तुमै पनि घाटा बेहोर्दै नेपाल, मुख्य १० वस्तुमै पौने २ खर्ब व्यापार घाटा

धेरै निर्यात हुने वस्तुमै पनि घाटा बेहोर्दै नेपाल, मुख्य १० वस्तुमै पौने २ खर्ब व्यापार घाटा



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोर्यो । मासिक खर्वाैं रुपैयाँ बराबरको वस्तु आयात भइरहँदा निर्यात भने अर्वमा सीमित हुँदा नेपालले हरेक बर्ष कुल बजेट बराबरकै व्यापार घाटा बेहोर्दै आएको छ । तर, व्यापार घाटा नियन्त्रण गर्न भन्दै सरकार र निजी क्षेत्रले चालेका हरेक कदम असफल हुँदै गएको तथ्यांकहरुले देखाउँछन् ।

हालै भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालले सबैभन्दा धेरै निर्यात गर्ने वस्तुमार्फत नै कुल व्यापार घाटाको १३ प्रतिशत हिस्सा ओगटेको पाइएको छ । पछिल्लो ११ महिनाको तथ्यांक हेर्दा नेपालले धेरै निर्यात गरेको मुख्य १० वस्तुमा खानेतेल, चिया–कफी, धागो, गलैंचा, फलाम तथा स्टिल, तयारी पोशाकलगायत छन् । यी वस्तुहरु नेपालबाट ११ महिनामा साढे १ खर्ब १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएका छन् । तर, यी वस्तुमा नेपालले सबैभन्दा धेरै व्यापारघाटा व्यहोरेको विभागका तथ्यांकमा उल्लेख छ ।

नेपालले पछिल्लो ११ महिनामा सबैभन्दा बढी खानेतेल निर्यात गरको छ । यस अवधिमा नेपालले २८ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ बराबरको खानेतेले निर्यात गरेको देखिन्छ । यो नेपालको कुल निर्यात व्यापारको झण्डै २० प्रतिशत हो । तर, खानेतेलको कच्चा पदार्थमात्रै नेपालले यस अवधिमा कुल निर्यातभन्दा ५३ अर्ब ७९ करोड ४० लाख रुपैयाँ बढीको गरेको छ । पछिल्लो ११ महिनामा नेपालले खानेतेलमात्रै ८२ अर्ब २२ करोड ८४ लाख रुपैयाँ बराबरको खानेतेलजन्य पदार्थ आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ । अर्थात नेपालले यस अवधिमा सबैभन्दा बढी निर्यात गरेको खानेतेलमै आधा खर्ब बढीको व्यापारघाटा बेहोरेको छ ।

यस्तै नेपालले धेरै निर्यात गर्ने मुख्य १० वस्तुभित्र पर्ने धागोबाट ५ अर्ब ५५ करोड, फलाम तथा जस्ताबाट १ खर्ब २० अर्ब ३३ करोड र तयारी पोशाकबाट ९ अर्ब ३ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको छ । यस्तै यसै अवधिमा नेपालले विभिन्न खाद्यपदार्थबाट १२ अर्ब रुपैयाँ व्यापारघाटा बेहोर्दा चिया कफी, गलैंचा, तरकारी फलफूल र फेल्टमार्फत भने नाफा गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार सबैभन्दा बढी निर्यात हुने दोस्रो स्थानमा भने चिया–कफी छ । नेपालले पछिल्लो ११ महिनामा १२ अर्ब ९० करोड १४ लाख ३३ हजार रुपैयाँ बराबरको चिया–कफी निर्यात गरेको छ ।

यसमार्फत भने नेपालले व्यापारमा नाफा गरेकोे छ । नेपालले यस अवधिमा जम्मा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्रै चिया कफी आयात गर्दा ५ अर्ब ९ करोड ४८ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । यस्तै यसै अवधिमा नेपालले गलैंचा बेचेर १० अर्ब ६९ करोड रुपैयाँ नाफा गर्दा फेल्टमार्फत २ अर्ब ७९ करोड र विभिन्न वनस्पतिजन्य रेसाहरु बेचेर ५ करोड रुपैयाँ बढीको नाफा गरेको भन्सार विभागले जानकारी दिएको छ ।

चालु आवको ११ महिनामा नेपालबाट निर्यात भएका मुख्य १० वस्तुहरुले कुल वस्तु निर्यातको ७० प्रतिशत हिस्सा ओगटेका छन् । त्यसमध्ये खानेतेलले सबैभन्दा बढी २० प्रतिशत हिस्सा ओगट्दा कफी र चियाले ८, धागो र गलैंचाले समान ७ प्रतिशत हिस्सा ओगटेका छन् । यता नेपालले निर्यात गर्ने मुख्य १० वस्तु नै विदेशबाट पनि २ खर्ब ७९ अर्ब ७१ करोड रुपैयाँ बराबरको आयात भएको छ । यसमार्फत नेपालले ४६ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो ११ महिनामा उठेको कुल भन्सार राजस्वको १३ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL