Logo

अर्काको बैंक खाताबाट लाखौँ रकम ट्रान्सफर गर्ने गिरोह सार्वजनिक

अर्काको बैंक खाताबाट लाखौँ रकम ट्रान्सफर गर्ने गिरोह सार्वजनिक



काठमाडौं । बैंकमा सेवाग्राहीको खाताबाट लाखौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । स्थानीय वृन्दावन नगरपालिका– ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गिरोहका सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज नगवाका वर्ष २१ को राजनारायण चौरासिया, वीरगञ्ज–१९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाउँपालिका–५ सिमवारिका वर्ष २९ को सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका वर्ष १९ को महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिराहा मिर्चैया नगरपालिका–८ भगवानपुरका वर्ष १९ को दिपे सदा र गोलबजार नगरपालिका–८ चोहर्वाका वर्ष २३ को श्रवण दास रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट विभिन्न वैंकको १५ थान एटिएम कार्ड,६६ हजार रुपैयाँ,१ थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूले माछापुच्छ्रे बैङ्क चन्द्रनिगाहपुर शाखामा सेवाग्राही रामेश्वर यादवको खाता नं. ०७५००६५३८२८०००१४ बाट गत जेठ ५ गते ३ लाख, ६ गते ३ लाख, र ७ गते ३ लाखको दरले जम्मा ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा ट्रान्सफर गरेका थिए ।

त्यसको दुई दिन पछि सेवाग्राही यादव स्वयं चेकमार्फत पैसा झिक्न बैंकमा जाँदा खातामा रकम नदेखेपछि ठूलो विवाद हुँदा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान सुरु गरेको थियो । अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरूले अनधिकृत रूपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैरकानूनी तवरले निकाली आर्थिक लाभ समेत लिई ठगी कार्यमा संलग्न रहेको डिएसपी एक नारायण कोइरालाले बताएका छन् ।

उनीहरुले विभिन्न व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइल अनलाइन बैकिङको युजर नेम र पासवर्ड समेत लिएका थिए । सोही आधारमा खाताहरूबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुल्न आएका ११ जना मध्ये सात जनालाई पक्राउ गरी ठगी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी कोइरालाले जानकारी दिएका छन् । यस्तो घटनामा संलग्न लाई पक्राउ गर्न निकै कठिन भए पनि विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा उक्त गिरोहलाई नियन्त्रणमा लिन सम्भव भएको डिएसपी कोइरालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL