Logo

सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँ-ठाउँमा पहिरोले यातायात अवरुद्ध, गोरुसिंगे-सन्धिखर्क सडक पनि अवरुद्ध

सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँ-ठाउँमा पहिरोले यातायात अवरुद्ध, गोरुसिंगे-सन्धिखर्क सडक पनि अवरुद्ध



काठमाडौं । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँ–ठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, का धेरै ठाउँमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगासहितको पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अन्तर्गत माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको छ ।

आर्यभन्ज्याङ–राम्दी सडकको रम्भा गाउँपालिका–३, पिपलडाँडा सेरा र लहसुने नजिकै पनि पहिरो खसेको स्थानीयले जानकारी दिएका छन् । राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण ट्रक नै फसेको ट्राफिक प्रहरीले जनाएको छ । पानी परिरहेकाले लेदो पन्छाउन समस्या भएको छ ।

आर्यभन्ज्याङ–रामपुर सडकको जब्गादी नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको रामपुर नगरपालिका–९, जब्गादीका वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । सेफद, जब्गादी, सिलुवालगायतका स्थानमा पहिरो खसेको छ । रामपुर जाने सडक अन्तर्गत निस्दी गाउँपालिका–५, ढुंगानावेंसी नजिकैसमेत पहिरो खसेर शुक्रबारदेखि नै सडक अवरुद्ध भएको छ ।

अर्घाखाँचीको गोरुसिंगे–सन्धिखर्क सडक पहिरोले अवरुद्ध

अर्घाखाँचीको गोरुसिंगे–सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र बहखोराको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । सडक बन्द हुँदा सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क भित्रिने यात्रु बीचबाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL