काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।
पूर्व सांसद रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो । बाँकेमा दर्ता भएको मुद्दामा उनलाई पक्राउ गरिएको एआईजी ज्ञवालीले जानकारी दिए । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ । रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा ०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनी पर्सा क्षेत्र नम्बर ३ का पूर्व सांसद् हुन् । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।