Logo

सिंचाई विभागका पूर्व महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्धा, तीन करोड ५६ लाख बराबरको बिगो दावी

सिंचाई विभागका पूर्व महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्धा, तीन करोड ५६ लाख बराबरको बिगो दावी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आरोपी राजभण्डारीविरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए । विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते मात्रै सेवाबाट अवकाश पाएका थिए ।

आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनकी श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, शेयर बिक्रीबाट प्राप्त आय गरी ३ करोड ८५ लाख ५१ हजार ७ सय ४० रुपैयाँ बराबर रहेको छ ।

सो अवधिमा राजभण्डारीले ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ ।

सिँचाइ विभागका महानिर्देशकसमेत रहेका राजभण्डारीले सार्वजनिक दिनमा रहेर पदको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्ति श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको छ ।

आरोपी राजभण्डारी र उनकी श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्