Logo

पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छ : अर्थमन्त्री

पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छ : अर्थमन्त्री



काठामाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् ।

अर्थमन्त्री महतले आव २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटि बनाएको बताए ।

अर्थमन्त्री डा महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्नु आग्रह गरे ।

वैदेशिक र आन्तरिक ऋण, राजस्व सङ्कलनको अवस्था, कोरोना महामारी र रुस-युक्रेन युद्धको असरले पुर्याएको प्रभावलगायत सबैलाई स्वीकार गरी आफूले बजेट निर्माण गरेको बताए ।

बढ्दै गएका समस्या एउटा मात्रै धक्काले मात्र समाधान हुन्छ भनि बजेटमा नभनिएको भन्दै अर्थमन्त्री डा महतले यी सबै समस्या  एक–एक गरी समाधान गर्ने गरी बजेट निर्माण गरेको दाबी गरे । उनले बजेट वितरण गर्ने प्रवृत्तिलाई अझै पनि नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । 

“थप वैदेशिक अनुदानका लागि प्रतिबद्धता आएको छ । सरकारले प्राथमिकता निर्धारण जनताका आवश्यकताका आधारमा गर्ने हो”, उनले भने, “बजेट नाराका लागि होइन, कार्यान्वयन हुने गरी आएकोमा म स्पष्ट पार्न चाहन्छु ।”

बजेटको आकारका विषयमा उठेको प्रश्नका सन्दर्भमा उनले सीमित साधन र स्रोतका आधारमा काम गर्नुपर्ने अवस्था रहेको र त्यसकै आधारमा प्राथमिकता निर्धारण गरिएको बताए ।

तिर्नुपर्ने ऋणको दायित्व बढेको अवस्था, राजस्वको र वैदेशिक सहयोगको घट्दो अवस्थालगायत कारण चालु आवकोभन्दा आगामी आवको बजेट कम आकारको भएको उनको भनाइ छ । प्रतिनिधिसभा बैठकमा आठ दिनसम्म चलेको बजेटमाथिको छलफलमा सांसदहरुले बजेटमाथि विभिन्न टिप्पणी गरेका थिए ।

उनिहरुले बजेटको भिजन स्पष्ट नभएको, समाजवादोन्मुखबाट चुकेको, आर्थिक वृद्धिको लक्ष्य महत्वाकाङ्क्षी भएको, राजस्वको लक्ष्य महत्वाकाङ्क्षी भएको भन्दै आलोचना गरेका थिए । साथै साधारण खर्च घटाउन नसकेको, प्रभावकारी कार्यान्वयन हुन नसकेको, कृषि र स्वास्थ्यमा बजेट कमी भएको, औचित्यका हिसाबले खर्च कटौती गर्ने संस्थाका बारेलगायत विषयमा विभिन्न प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्