Logo

कान्ति राजमार्गमा पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति, पहिरो क्षेत्र र ‘ब्लाष्टिङ’ गर्नुपर्ने चट्टानी क्षेत्र बाँकी

कान्ति राजमार्गमा पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति, पहिरो क्षेत्र र ‘ब्लाष्टिङ’ गर्नुपर्ने चट्टानी क्षेत्र बाँकी



काठमाडौं । कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ प्रविधि प्रयोग हुनसक्ने योजना प्रमुख सुरेश न्यौपानेले बताए ।

पहिले विस्तृत अध्ययनको प्रतिवेदन आएपछि नै ती काम अघि बढाइने उनको भनाइ छ । अहिले विभागको भू–वातावरण शाखाले पहिरोको अध्ययन गरिरहेको छ । उनले भने, ‘भित्तामा पहिले पहिरो रोकथाम र सडकमा पनि ढलान गर्नुपर्ने भएमा लगानी बढी हुनसक्छ ।’

आगामी वर्षको लक्ष्य बाँकी रहेका क्षेत्रमा काम अघि बढाउनुरहेको योजनाले जनाएको छ । ती क्षेत्रमा विस्तृत पहिरो रोकथाम गरेर सडक बनाउने गरी अघि बढाउन लागिएको उनको भनाइ थियो । यस्तो सडकमा मकवानपुर जिल्लातर्फ साढे दुई किमी र ललितपुरमा साढे दुई किमी रहेको छ । ललितपुरतर्फ अझै पनि कतिपय खण्डमा कालोपत्र गर्न सकिने ठाउँमा गर्दा त्यो लम्बाइ अझै घट्न सक्ने जनाइएकोे । अब स्तरोन्नतिमा जान बाँकी खण्डमा पहिरो क्षेत्र र ‘ब्लाष्टिङ’ गर्नुपर्ने चट्टानी क्षेत्र रहेको छ ।

ललितपुरमा छपेली र कार्कीवास क्षेत्रमा त्यस आसपास ठाउँ–ठाउँमा यो समस्या बढी रहेको योजनाले जनाएको छ । मकवानपुरको ठिङ्गन चार सय मिटरमा र बगुवालगायत क्षेत्रमा रहेको छ । विशेष गरी छपेली पर कार्कीवास क्षेत्रमा बढी रहेको छ । त्यो क्षेत्रमा स्तरोन्नतिका लागि अनुमान गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको उनले बताए । योजना प्रमुख न्यौपानेले भने, ‘अहिले बहुवर्षीय सहमति नआएर रोकिएको छ ।’

झण्डै ६ दशक पहिले ट्रयाक खुलिसकेको कान्ति राजमार्ग अझै सम्पन्न भइसकेको छैन । अहिलेसम्म समस्या नभएका स्थानमा कालोपत्र भइसकेकामा पहिरो आउने सम्भावित क्षेत्रमा मात्रै काम गर्न बाँकी रहेको छ । केही वर्षयता भीमफेदीबाट फर्पिङ आउने बाटोसँगै कान्ति राजमार्गको प्रयोग बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL